१५ बैशाख २०८१, शनिबार 1714225116
पालिका

सूर्यबिनायक नगरपालिकाले भव्य रुपमा मनायो ८ औं स्थापना दिवस

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आठौ स्थापना दिवस भब्य रुपमा मनाएको छ । शान्ति तथा समृद्धि पदयात्रा र उत्कृष्ट करदातालाई सम्मान गरी आठौ नगर स्थापना दिवस भब्य रुपमा मनाएको हो । नगरपालिकाको कार्यालयदेखि सृजनानगर सल्लाघारी हुँदै पुर्न नगरपालिका प्रागंणमा आएर पदयात्रा समापन गरिएको थियो ।

नगरपालिकाको प्रागणमा आयोजित स्थापना दिवस कार्यक्रम नगर प्रमुख बासुदेव थापाले आठ वटा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो भने आठ किलोको केक काटेर खुसीयाली साँटासाँट गरिएको थियो । कार्यक्रममा स्काउटको तर्फबाट मार्चपास गरिएको थियो भने फाउन्ट एभेष्ट सेकेण्डरी स्कुल, मोडन इगंलीस स्कूल र ज्योति माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । नगरपालिकाले स्थापना दिवसकै अवसरमा उत्कृष्ठ करदाता लक्ष्मण अवाल र पूर्ण लिम्बूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, नगर प्रवक्ता रविन्द सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीलगायतले सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा नगर प्रमुख थापाले पछिल्लो सात वर्षमा नगरपालिकाले हासिल गरेको प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं २, बालकोटका अध्यक्ष प्रदिप कार्कीले स्वागत मन्तब्य राख्नु हुँदै आफुहरु जनताको सेवामा तल्लिन रहेको बताउनुभएको थियो । अध्यक्ष कार्कीले नगरपालिका भित्र बढ्दै गएको जनसंख्यालाई रोक्न चुनौतीपूर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, सामाजिक विकास शाखा प्रमुख रत्न बहादुर कट्वाल, वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खडका, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री, शिवराम राउत सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, कार्यपालिका सदस्यहरु हेमा दाहाल खवितडा, तारा सापकोटा, शर्मिला लम्साल बस्नेत, कमला पोखरेल, सावित्री मिश्र, सुनील भुजेल, प्रजुन त्रिखत्री र सुमन परियारलगायत नगर सभा सदस्यहरु र विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुलगायत सहभागि हुनुहुन्थ्यो ।

यस्ता छन् नगरपालिकामा विगत ७ वर्षमा भएका प्रमुख उपलब्धीहरु:-

● नेपालको संविधानको अनुसुचीमा ८ मा स्थानीय तहलाई प्रदान गरिएको एकल अधिकारहरुको कार्यान्वयनका लागि ३८ वटा ऐन, ९ वटा निमयावली, ४७ वटा कार्यविधि निर्देशिका र २ वटा आचार संहिता सहित ९४ वटा कानून तर्जुमा गरिएको

● नगरपालिकाको २५ वर्षे दीर्घकालीन योजना, ५ वर्षे आवधिक योजना, अन्य विषयगत तथा रणनीतिक योजना तर्जुमा गरीएका छन् । नगरपालिकाको शुन्य लगानीमा नीजि क्षेत्रसंग समन्वय गरी नगरपालिकाको गरिएको छ फोहर मैला व्यवस्थापन कार्य

● व्यवसायिक कृषि तथा पशुपालनको माध्यमबाट नगरवासीहरुको आर्थिक समृद्धिका लागि योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वन गरिएको छ । उद्यमशिलता र रोजगारी सृजनाका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रको सहकार्यलाई निरन्तर रुपमा अगाडि वढाईएको

● विपद व्यवस्थापन, पर्यटन क्षेत्र विकास, आन्तरिक आय वृद्धि लगायतका क्षेत्रमा संघ, प्रदेश, र अन्तर स्थानीय तह समन्वय, सहकार्य र अन्तरसम्बन्धलाई अगाडि वढाईएको

● १५ वटा नगरसभा तथा १६२ वटा कार्यपालिका बैठक सर्वसम्मत रुपमा सम्पन्न भएका छन् । शिक्षा क्षेत्रको निरन्तर सुधारको प्रयास स्वरुप सामुदायिक विद्यालयको प्रधानाध्यापक प्रतिस्पर्धात्मक परीक्षा संचालन गरी नियुक्ती गर्ने सम्बन्धी नीति कार्यान्वयनबाट देशव्यापी रुपमा यस नगरपालिकाले प्रशंसा पाएको

● सेवा प्रवाह, वित्तीय नियन्त्रण र सुशासनको सूचकहरु पुरा गर्दै नगरपालिकाको स्व मुल्यांकन (लिजा), र वित्तीय मुल्यांकन मा उत्कृष्ठ नतिजा ल्याउनुका साथै हामी वित्तिय अनुशासन कायम गर्न सफल भएको

● पूर्वाधारका क्षेत्रमा ११४ कि.मी पक्की सडक निर्माण, ३७ वटा कल्भर्ट तथा पुल, ५०५३ वटा सडक बत्ति, १४५ कि.मी.सडक स्तरोन्नती, २१ हजार घरधुरीलाई स्वच्छ खानेपानी वितरण, नगर कार्यपालिका, वडा र अन्य सामुदायिक गरी ६० वटा भवन निर्माण, १७७ कि.मी. सडक सिमांकन, ७५ वटा मठ मन्दिर एवं पाटी पौवा निर्माण सुधार, ४० कि.मी. ढल, करिब २० हजार ५ सय व्यवसायिक एवं आवासीय भवनको स्वीकृति लगायतका कार्यहरु गरिएको

● नगरपालिकाको स्वलगानी तथा स्वव्यवस्थापनमा नगर अस्पताल संचालन गरि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

● नगरवासिको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य वीमामा रु.एक हजार अनुदान दिने कार्यक्रम ल्याई हालसम्म १५ हजार परिवारको स्वास्थ्य वीमा कार्य सम्पन्न भएको

● महिला, बालबालिका, जेष्ठ नागरिक, अपागंता भएका, र विपन्न नागरिकहरुको हित अभिवृद्धिका लागि नीतिगत, संरचना गत र कार्यक्रमगत रुपमा संबोधन गरिएको छ ।