१७ बैशाख २०८१, सोमबार 1714433918
पालिका

सूनपा भित्रका साना व्यवसायीलाई विना धितो, विना ब्याजको ऋण दिने मेयर बासुदेव थापाको आश्वासन

भक्तपुर – सूर्यविनायक नगरपालिका भित्रका साना व्यवसायलाई आत्मनिर्भर बनाउन नगरपालिकाले विना धितो विना व्याजको व्यवस्था गर्ने मेयर बासुदेव थापाले बताउनुभएको छ । साना व्यवसायीलाई सिधै पैसा नदिएर उनिहरुको व्यवसाय विकासका लागि नगरपालिकाको सहयोग रहने उहाँको भनाइ थियो ।

स्वीस सरकार, सुर्यविनायक नगरपालिका र वान टु वाचको सहकार्यमा आयोजित कार्यक्रममा मेयर थापाले सूर्यविनायक नगरपालिकामा दर्ता भएका ७ हजार व्यवसाय मध्ये छानेर २० वटा व्यवसायीलाई नगरपालिका, स्वीस सरकार र वान टु वाचको सहकार्यमा उद्यमी बन्न सहयोग पुगेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकालाई नयाँ ढङ्गबाट अगाडी बढाउने कार्यमा आफू लागिपरेको बताउँदै उहाँले नगरबासीले तिरेको कर सहि ठाउँमा सदुपयोग गर्नु आफनो कर्तव्य भएको भन्दै आगामि दिनमा करको दायरा बढाउने तर करको दर भने नबढाउने उहाँको तर्क थियो ।

कार्यक्रममा उपमेयर सरिता तिम्सिना भटटराईले सूनपालाई समृद्ध बनाउने परिकल्पना अनुरुप नयाँ नयाँ भिजनका साथ अघि बढिरहेको बताउनुभयो । नगरपालिका भित्र रहेका साना तथा मझौला व्यवसायको विकासका लागि नगरपालिकाको सहयोग सधै रहने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल स्थित स्विस राजदुतावासकी राजदूत ड्यानिएली मिउलीले सूर्यविनायक नगरपालिकाले संविधान अन्तर्गत आफुले पाएको अधिकार प्रयोग गरेकोमा आफुलाई खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालमा रहेका निजी क्षेत्रको विकासका लागी स्विस सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा हस्तकला, पुराना लुगाको पुन प्रयोग, झोला बनाउने लगायतका २० जना व्यवसायीले आफुले उत्पादन गरेका सामाग्रिको प्रदर्शनपनि गरेका थिए ।