१६ बैशाख २०८१, आईतवार 1714314787
पालिका

चाँगुनारायण नगरपालिकाले मनायो आठौ स्थापना दिवस

चाँगुनारायण : चाँगुनारायण नगरपालिकाले आठौं स्थापना दिवस मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजन गरि आठौ स्थापना, बालमैत्री स्थानीय तह घोषणाको दोस्रो बार्षिकोत्सव तथा ११४ औ अन्तराष्ट्रिय महिला दिवस भब्य रुपमा मनाएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नगर प्रतिनिधि तथा प्रमुखहरुको सहभागितामा मनाइएको हो ।

कार्यक्रमको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा सांसद थापाले नगरपालिकाले विकास निर्माणमा गति लिइरहेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा भक्तपुरमा उत्कृष्ठ बन्ने गरि अगाडि बढ्न शुभकामना दिनुभयो । उहाँले समृद्ध चाँगुनारायण निर्माणमा सबैको साथ र सहयोगको खाँचो पर्ने बतानुभयो ।

कार्यक्रममा प्रदेश सांसद सुरेश श्रेष्ठले स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर चाँगुनारायणको विकासमा हातेमालो गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

सो अवसरमा नगर प्रमुख जीवन खत्रीले आफु निर्वाचीत भएर आएपछि सबै ठाउँबाट सकारात्मक सहयोग भएकै कारण चाँगुनारायणबासीको विकासको सपनालाई साकार बनाउन सफल हुँदै गइहेको बताउनुभयो ।

नगरपालिका घोषणा भएपश्चात चाँगुनारायणलाई राम्रो र समृद्ध बनाउनका लागि सबै जना एकजुट भएर लागिपरेको मेयर खत्रीको भनाई छ ।

मेयर खत्रीले नगरपालिकाले आफ्नो स्रोत र साधनलाई भरमग्दुर उपयोग गर्दै प्राथमिकताका आधारमा विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरि केसी, नेकपा एमाले चाँगुनारायण नगर कमिटी उपाध्यक्ष जयराम बाँस्तोलालगायत विभिन्न राजनीतिका प्रमुख तथा प्रतिनिधिहरुले नगरपालिकाको स्थापना दिवसको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत चुरामणी पन्थी, वडा नं २ का वडाध्यक्ष सोम प्रधानले स्वागत मन्तब्य राख्नु भएको थियो भने सामाजिक विकास महाशाखा प्रमुख नीला घिमिरेले नगरपालिकाको प्रगति प्रतीवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ठ नृत्य प्रस्तुत गरेका थिए भने “बालमैत्री अधिकार र स्थानीय बालमैत्री शासन” सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रशासन अधिकृत सुरज पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, नगर कार्यापालिकाका सदस्यहरु र कर्मचारीहरु लगायतको सहभागिता थियो ।