१८ बैशाख २०८१, मंगलवार 1714467341
Banner

अति अपाङ्गको सुसारेलाई समेत भत्ता दिने हाम्रो नवीनतम कार्यक्रम : मेयर जीवन खरेल

काठमाडौं । गुल्मि जिल्लाको मुसिकोट नगरपालिका पहाडै पहाडले घेरिएको मध्य पहाडी क्षेत्र हो । मुसिकोटे राजाले राज्य गरेको ऐतिहासिक मुसिकोट दरबारसमेत भएको यो महत्वपुर्ण नगरपालिका हो । बडिगाड दरम खोला, निस्ती–छल्दी लगायतका कयौं खोलानालाद्वारा हराभरा छ यो नगरपालिका । मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय गौरवका योजनाको बीचमा रुद्रबेणी–वामी टक्सार राजमार्गले चिरेर वारिपारि भएको नगरपालिका हो मुसिकोट । मुसिकोट नगरपालिकाले समृद्धिको आधारका रूपमा सामाजिक विकास र सामाजिक न्यायसँगै कृषि उद्योग पर्यटन, पुर्वाधार, शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने अठोट लिएर लगातार काम गरिरहेको छ । स्थानीय बेरोजगार युवालाई सम्बोधन गर्दै कृषि, पशुपालनको व्यवसायीकरण र निमार्ण तथा मर्मत सम्हारका कामहरुमा लगातार परिचालन गर्ने नीति लिएको छ । मुसिकोट नगरपालिकालाई आत्मनिर्भर र उत्कृष्ट बनाउन एमालेबाट निर्वाचित मेयर जीवन खरेल सहितको टीम लागि परेको छ । उनै नगर प्रमुख खरेलसँग सूचना प्रेसले गरेको कुराकानी ।

तपाई निर्वाचित हुनुभएको पनि दुई बर्ष पुग्न लाग्यो, यो दुई बर्षमा के के काम भए, आफुले गरेको कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

योजनाअनुसार काम गरिरहेका छौ । लगातार हाम्रो भिजन अनुसार विकास र पुर्वाधार निमार्णमा काम भईरहेको छ । थुप्रै कामहरु प्रकृयामा छन् । सडक पक्की गराउने, ढलान गराउने, पुर्वाधार विकासमा सडकको स्तरोन्नति गर्ने अभियान चलाएका छौ । म निर्वाचित हुनुभन्दा अघि सडकको अवस्था एकदमै दयनीय थियो । कच्ची बाटोका कारण, खोला नाला धेरै भएको ठाउमा जोखिम थियो । अहिले सडक मर्मत सँगै नगरपालिकाको सुविधासम्पन्न आफनै भवन निमार्ण गर्न सफल भएको छु । मुख्य प्राथमिकता नै सडक रह्यो । हाल मुसिकोट नगरपालिकाका ९ वटै वडामा सडक सुविधा छ ।

स्वास्थ्य चौकी, वडा कार्यालयका आफनै भवन, सामुदायिक भवनहरु निमार्ण भइरहेका छन् । सिचाईमा किसानले माग गरेको ठाउँमा उच्च प्राथमिकताका साथ कुलोको निमार्ण गर्ने मरमत गर्ने कार्य भएका छन् । प्रत्येक घरमा एक घर एक धारा पुरयाउने गरि ८० प्रतिशत घरधुरी लाभान्वित भइसकेका छन । अहिले मुसिकोट नगरपालिकामा पानीको समस्या छैन । आवास विहिनका लागि आवास बनाइदिने कार्यक्रम पनि छन् । अतिविपन्न विपदबाट घरवार बिहिन भएका व्यक्तिका लागि घर बनाइदिने योजनामा छौ । किसानले उत्पादन गरेको सामान नगरपालिकाले खरिद गरिदिने व्यवस्थापनि गरेका छौ । बस्ती बस्तीमा घुम्ति स्वास्थ्य क्लिनिक लगातार उपलब्ध गराएका छौ । अति अपाङ्गका लागि उसको संरक्षक या भनौ सेवा गर्नेलाई १ हजार भत्ता दिने कार्यक्रम ल्याएका छौ । जस अन्र्तगत ९५ जनाले यो सुविधा पाएका छन् ।

कामका दौरानमा मुख्य समस्या र चुनौतीहरु कस्ता कस्ता आए ?
चुनौती भनेको बजेटको अभाव हुने हो । माथिल्लो सरकार प्रदेश सरकारबाट आवश्यकता अनुरुपको सहयोग नहुँदा अलि समस्या भएको छ । हामीले त चुनावमा गरेका बाचाअनुसार नै काम गरिरहेका छौ । आफनो नगरपालिकामा बजेट कार्यक्रम लैजानका लागि हामी केन्द्रमा आएका हौ । धाएर आउँदा पनि पहुँचका आधारमा काम हुने भएकाले अलि बढि चुनौती छ ।

तपाईको नगरपालिकामा विद्युत, सञ्चार, सडकको अवस्था कस्तो छ ?
त्यस्तो केही समस्या छैन, मेरो पालिकाको प्रत्येक वडामा विद्युत, सञ्चार, सडकको राम्रो व्यवस्था छ ।

तपाईको पालिका कृषिमै निर्भर छ । कृषि क्षेत्रको विकासका लागि के कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
मेरो पालिकामा कृषिसँगै वैदेशिक रोजगारीमा युवा गईरहेका छन । युवालाई आफनै पालिकामा रहने व्यवस्था मिलाउनका लागि लघु उद्योगहरु, घरेलु उद्योग, पशुपालन व्यवसायमा युवालाई केन्द्रित गदै पुरस्कार दिने ब्याजमा अनुदान दिने, तालिम दिने उनीहरुको काममा सपोर्ट गर्ने कार्यक्रम ल्याएका छौ ।

मुसिकोट नगरपालिकामा अन्य आकर्षक के के छन्, तिनीहरुको प्रचारप्रसारका लागि के के योजना बनाउनुभएको छ ?

मुसिकोटको ऐतिहासिक दरबार, लालीगुराँस उद्यान, आँपचौरको कफी उद्यान, मालिका र सालिम्मेका धार्मिकपर्यटन मुसिकोटका मुख्य गन्तव्य हुन । त्यसको पुर्वाधार विकास गर्ने योजना बनाएका छौ ।

तपाईको अबको बाँकी समयको मुख्य योजना चाहि के बनाउनुभएको छ ?
जुन काम अघि बढिरहेका छन तिनैलाई पुरा गराउने हो । कतिपय योजना सकिएका छन, कतिपय अघि बढिरहेका छन् । सडक पुर्वाधार, शिक्षा, भवन निमार्ण गुणस्तरिय शिक्षा, प्राविधिक शिक्षा स्वास्थयका साथै नगरपालिकामा सुशासन कायम गराउने नै हो ।