१५ बैशाख २०८१, शनिबार 1714234123
कला/साहित्य

‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर

काठमाडौँ। राजाराम बुढाथोकीद्वारा निर्मित चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित चलचित्र पुस २७ गते देशभर प्रदर्शन गरिने भएको छ ।  

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोड सम्पूर्ण कुराको मिश्रण रहेको छ । दर्शकले यसबाट भरपूर मनोरञ्जन पाउने निर्माण पक्षको दाबी छ । 

निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’ मार्फत नयाँ कलाकारका रूपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई चलचित्रमा डेब्यु गराएका थिए भने यस पटक उहाँले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेतृमा रक्षा बुढाथोकीलाई डेब्यु गराउनुभएको छ । 

श्रेष्ठले चलचित्रमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण रहेको बताउनुभयो । उहाँले यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको जानकारी दिनुभयो । 

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । कमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत रहेको छ ।