२७ बैशाख २०८१, बिहीबार 1715255728
कला/साहित्य

सत्य–स्वरूपको दुई गीत सार्वजनिक

काठमाडौँ  । गायक द्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो । 

गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिनुभयो । “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्य दृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौँ । यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ”, गायक सत्यराजले भन्नुभयो । ‘पागलपन’ बोलको गीतमा उहाँलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाउनुभएको छ । 

अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिनुभएको छ । गायक आचार्यले सिँधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताउनुभयो । 

“मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ । यस कारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे । यो चल्नु पर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ”, गायक आचार्यले भन्नुभयो, “गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गर्नुभएको छ । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।”

सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्य दृश्यमा अभिनय पनि गर्नुभएको छ । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्य दृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताउनुभयो । 

पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।