२५ बैशाख २०८१, मंगलवार 1715128521
Banner

युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं । युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका हुन् ।

कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए ।

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो ।