११ जेष्ठ २०८१, शुक्रबार 1716564548
Banner

संसदमा बोल्न पाऊँ भन्दै सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई संसद‍्मा बोल्न अनुमति माग्दै निवेदन दिनुभएको छ।

सोमबार सभामुख घिमिरेलाई पत्र लेख्दै गृहमन्त्री लामिछानेले आफ्नो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरीका बारेमा संसद्मा बोल्ने समय मिलाउन आग्रह गर्नुभएको हो। निवेदनमा उनले संसद‍्मा उत्पन्न गतिरोधका कारण आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएकोप्रति ध्यानाकर्षण गराउनु भएको छ।

सभामुखलाई लेखेको निवेदनमा उहाँले भन्नुभएको छ, ‘सङ्घीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनु भएको थियो। सो सम्बन्धमा मैले संसदमा उपस्थित भई सार्वभौम संसद् मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसदमा उत्पन्न भएको गतिरोधको कारण सम्भव भएन । यसबाट आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएको छ। जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरूले उठाउनु भएको विषयमा आम नागरिकलाई जानकारी गराउनु मेरो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको हुँदा यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ संलग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु।’