२६ बैशाख २०८१, बुधबार 1715151573
Uncategorized

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता, भाेलि उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं- आगामी १२ माघका लागि तय भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म उम्मेदवारी दर्ताकाे समय तोकिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।

प्रदेश १ काे विराटनगर, २ काे जनकपुरधाम, बागमतीकाे हेटौँडा, गण्डकीकाे पोखरा, लुम्बिनीकाे घोराही, कर्णालीकाे वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ ।

भाेलि उम्मेदवारविरुद्ध उजुरीकाे कार्यसूची छ भने २२-२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ ।

निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्तागठबन्धनमा रहेका दलहरूकाे साेमबारकाे बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गर्ने निर्णय गरिसकेकाे छ ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।