६ जेष्ठ २०८१, आईतवार 1716166403
Banner

बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् ।

उनीहरुको उमेर करिब २०–२१ वर्षको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते हुनेमा उपकार थापा र ऋतिक तिवारी रहेका छन् ।

उनीहरुको त्रिशूली अस्पताल नुवाकोटमा उपचार हुन नसक्ने भएकाले थप उपचारको लागि काठमाडौँ पठाइएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । घाइतेमध्ये थापाको टाउको, हात, खुट्टालगायतमा घोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ । काठमाडौँको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सम्पन्न भएसँगै दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो । बागमती प्रदेश ०२–०४६ प १५२९ नंको मोटरसाइकलमा चढेका रुविनको घटनास्थलमा र स्वीकारको उपचारको क्रममा त्रिशूली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०२–०४४ प ३६९२ नंको मोटरसाइकलमा चढेका उपकार र ऋतिक गम्भीर घाइते भएकाले उपचारको लागि आज नै काठमाडौँ पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।