१४ बैशाख २०८१, शुक्रबार 1714155557
Uncategorized

एमाले जिल्ला अधिवेशन : कपिलवस्तुमा अध्यक्ष पदमा चार नेताको दाबी

कपिलवस्तु – एमाले कपिलवस्तु अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । पुस २३ र २४ गते बाणगंगामा हुने जिल्ला अधिवेशन नजिकिँदै जाँदा चुनावी चहलपहल बढेको छ । हालसम्म चार नेताले जिल्ला अध्यक्षमा दाबी गरेका छन् ।

अध्यक्ष दाबी गर्नेमा लुम्बिनी प्रदेश सचिवालय सदस्य डम्मर शर्मा, जिल्ला उपाध्यक्ष बाबुराम खनाल, जिल्ला सचिव बाबुराम आचार्य र शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी रहेका छन् ।

अध्यक्षका प्रत्यासी चार नेता एमाले कार्यकर्ता माझमा चर्चित मानिँदै आएका छन् । आचार्य र शर्मा क्षेत्र नम्बर १, खनाल क्षेत्र नम्बर २ र अधिकारी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्दै आएका छन् । एमालेभित्र सबै गुटको अन्त्य भएपछि निर्वाचन हुने भएमा व्यक्तिगत प्रभाव पर्न सक्ने देखिन्छ । यता एमाले शीर्ष नेतृत्वले सहमतिको लागि प्रयास गर्दै सबै नेतालाई मिलाएर लाने कोसिस समेत गरेको छ ।

लामो समयदेखि अधिवेशन नहुँदा नेतृत्वको लागि जिल्ला नेताहरूबीच तीव्र प्रतिस्पर्धा बढेको छ । एमाले भित्र अध्यक्ष मात्र नभई अन्य पदमा समेत धेरै जनाको उम्मेदवारी पर्ने सङ्केत देखिएको छ । उपाध्यक्ष, सचिव, सहसचिवमा समेत आकाङ्क्षी धेरै देखिएका छन् ।

गुट बनाएर उम्मेदवारी दिन नपाइने नियम भएको हुँदा उम्मेदवारका आकाङ्क्षीहरू प्रतिनिधिसँग भेटघाट र फोनमार्फत मत माग्न सुरु गरेका छन् ।