२४ बैशाख २०८१, सोमबार 1715044612
Banner

लोकप्रियतावादीको स्वेच्छाचारिताले देशमा अस्थिरता निम्त्याउँदैछ

अहिले निरङ्कुशतावादीहरू विभिन्न रूपमा गएको ३० वर्षमा केही पनि भएन भन्दै लोकतान्त्रिक गणतन्त्रका विरूद्धमा राजनीतिक माहौल बनाउन खोज्दैछन्। अहिले भन्दा पहिले नै ठीक थियो अर्थात लोकतान्त्रिक काल भन्दा राजतन्त्रको समयमा देश राम्रो थियो भन्ने गलत भाष्य स्थापित गर्न सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूमा लगानी बढाउँदै छन्। खासगरी सामाजिक सञ्जालमा उनीहरूको सक्रियता स्वभाविक देखिदैन्। यतिबेला निरङ्कुश शासन व्यवस्था फर्काउनका लागि उनीहरूले जनताको वितृष्णा र असन्तुष्टीलाई मुख्य आधार बनाएर लोकप्रियतावादी राजनीतिमाथि व्यापक लगानी गरिरहेका छन्। यो लगानीको मुख्य उद्देश्य नेपालमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्दै निरङ्कुश शासन व्यवस्थामार्फत नेपालमा नियन्त्रित अस्थिरता बढाएर बाह्य स्वार्थ पूरा गर्ने नै हो।

भ्रमबाट मूक्त भएर ढुक्कका साथ भन्न सकिन्छ, अहिले लोकप्रिय बन्न र देखिन रमाएका पात्रहरू लोकतान्त्रिक गणतन्त्र होइन, राजतन्त्रात्मक व्यवस्था चाहिन्छ भन्ने शुभमुहुर्त कुरेर बसेका छन्। जसरी विचारभन्दा माथि देश भन्दै रवीन्द्र मिश्रले साझा पार्टी हुँदै राप्रापा प्रवेश गरे, त्यसरी नै केही लोकप्रियतावादीहरूले संविधानभन्दा माथि देश भन्दैछन्। राजनीतिमा आएका पात्रहरूको असली अनुहार चिन्न त्यति सजिलो छैन् जति रूपमा उनीहरू देखिन्छन्। यसर्थ आज हामीले लोकप्रियतावादीहरूको चरित्र, असलियत र प्रेरणा के हो चिन्न र बुझ्न सक्नुपर्छ। अनिमात्र हाईहाई र वाहवाही गर्ने हो कि बाईबाई गर्ने हो भनेर निष्कर्षमा पुग्नुपर्छ।

हिजो प्रचण्डको चरित्र, असलियत र प्रेरणा चिन्न नसक्दा देशले एक दशक द्वन्द्व र हिंसा व्यहोर्नु पर्यो अनि ठूलो जनधनको क्षतिमात्र भएन देशलाई अस्वभाविक रूपमा पछाडि पनि पारियो। आज प्रचण्ड प्रवृत्ति र शैलीलाई अर्को रूपमा लोकप्रियतावादीहरूले अपनाएर देशमा राजनैतिक तथा संवैधानिक अस्थिरता सिर्जना गरेर नियन्त्रित अस्थिरता बढाउने गतिविधिहरू गरिरहेका छन्। त्यसैले त उनीहरूले जनतालाई भावनात्मक रूपमा भड्काउने रणनीतिअन्तर्गत मुद्दाहरू उठाउने गरेका छन् र त्यसलाई सामाजिक सञ्जालमार्फत जनतामा पुर्याएका छन्।

पहिले भारतीय चलचित्रका अभिनेता ऋतिक रोशनले के भन्यो भनेर नारा लगाइयो, सडकमा युवा उतारियो र तोडफोड गरियो। त्यसको प्रतिवादमा राज्यले शक्ति प्रयोग गर्दा अनाहकमा केही युवाको ज्यान पनि गयो। पछि ऋतिक रोशनको भनाई होइन रहेछ भन्ने सूचना आयो। अहिले पनि त्यही सूत्र प्रयोग गरेर बालेन शाहले आफूलाई हिरो देखाउने र भारतीय चलचित्र आदीपुरूषलाई देखाएर जनतालाई भावनात्मक रूपमा भड्काउने प्रयास गर्दैछन्। त्यतिबेला भारतको विरोध गरेर भारतकै स्वार्थ पूरा गरिएको थियो भने यतिबेला पनि भारत कै स्वार्थ पूरा हुनेगरी चलचित्रको विरोध गर्न सांस्कृतिक अतिक्रमण भो भनिदैछ। यसका लागि सूचना र प्रविधिको प्रयोग व्यापक बनाइएको छ।

सामाजिक सञ्जाल र बौद्धिकताको दुरूपयोग भइरहेको छ। हामीले बुझ्नुपर्छ, सांस्कृतिक अतिक्रमण चलचित्र र सिनेमाहलबाट मात्र हुँदैन्। डिजिटल विश्वमा अरू कैयन माध्यमहरू छन्। घरमा चलाउने टिभी, हातको मोबाईल र टेबलको कम्प्युटर पनि सांस्कृतिक अतिक्रमणका माध्यमहरू हुन सक्छन्। हाम्रो शिक्षा व्यवस्था त पहिलेदेखि नै त्यसको प्रमुख माध्यम बनेकै थियो। तर हामीभने सत्यतथ्य नबुझी आफ्ना क्षमताहरूको दुरूपयोग हुन दिएर लोकप्रियतावादीहरूको मनोबल बढाउने काम गरिरहेका छौं। यसले हाम्रो चेतना र बौद्धिकताको स्तर कस्तो छ भन्ने कुरा दर्शाई रहेको छ। हामी आर्थिक रूपमा मात्र होइन, बौद्धिक रूपमा पनि दरिद्र देखिएका छौ। आर्थिक दरिद्रता हटाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ भनेर धेरै लेख तथा साहित्यहरू पढ्न पाईन्छ। तर बौद्धिक दरिद्रता हटाउने साहित्य भेटिदैन्। नेपाल पछि पर्नुको मुख्य कारण आर्थिक होइन बौद्धिक दरिद्रता र दास मनोविज्ञान नै हो। बौद्धिक दरिद्रता र दास मनोविज्ञानलाई हटाउने औपचारिक तथा अनौपचारिक शिक्षाको अभाव आज खड्किएको छ।

राजनीतिमा भाावनात्मक होइन, चिन्तनशील दिमाग चाहिन्छ। तर यतिबेला नेपालको राजनीतिमा भावनात्मक दिमागले प्राथमिकता पाउँदा वैचारिक राजनीतिभन्दा भ्रमपूर्ण सस्तो लोकप्रियतावादी राजनीति र राजनीतिक नेतृत्वहरूको चर्चा बढेको छ। भावनात्मक रूपमा भड्किएको र द्वन्द्वकालमा हुर्केको नयाँ पुस्ताले रवी लामिछानेले राजनीतिमा आउनु भन्दा अघि गरेका चर्तिकला अर्थात लीला राम्ररी बुझेको हुनुपर्छ। त्यसैले त उनीहरू लीलावाला भाषामा प्रयोग गरेर २०८४ मा प्रधानमन्त्री बन्ने रवीको उद्घोषमा रमाएर लेख्दैछन् र बोल्दैछन्। अनि रवी आफ्ना भक्तहरूलाई जथाभावी नलेख र नबोल भन्दैछन्। भावनात्मक राजनीतिले क्षणिक लोकप्रियता त कमाउला तर देशमा लोकतान्त्रिक व्यवस्था बलियो बन्न दिदैन भन्ने कुराको प्रमाण प्रचण्ड र लोकप्रियतावादीहरूका पछिल्ला गतिविधिहरू नै हुन्।

मुड्डे र काल्टवास्सेरलले पपुलिज्मः अ भेरी शर्ट इन्ट्रडक्सनमा लेखेका छन्, “जतिसुकै प्रभाव जमाउन सफल भएतापनि लोकप्रियतावाद आफैंमा गन्तव्य होइन। संसारका हरेक लोकप्रियतावादी राजनीतिले कुनै न कुनै सिद्धान्तको पगरी लगाउँछ र त्यसैअनुरूप गन्तव्य रोज्छन्।” अहिले नेपालमा ठ्याक्कै त्यस्तै हुँदैछ, लोकप्रियतावादीहरूले संविधानवादको पगरी लगाएर संवैधानिक तथा राजनैतिक व्यवस्था असफल बनाउन र निरङ्कुश राजतन्त्रात्मक राजनीतिक व्यवस्था फर्काउन सहयोगी हुने गतिविधिहरू गरिरहेका छन्। तर जनताले तिनका गतिविधिहरूको अन्तर्य नबुझ्दा राजनीतिक रूपमा सस्तो लोकप्रियतावादीहरू बलिया हुनछन् कि भन्ने सम्भावना देखिएको छ।

लोकप्रियतावादीहरूले आफ्नो सबल र असल पक्ष अनि राजनीतिक वैचारिक धार र गन्तव्य के हो केही भन्दैनन्। आफ्नो राजनीतिक आदर्श के हो र आदर्श व्यक्तित्व को हो खुला रूपमा भन्न सक्दैनन्। तर केही दल र तिनका नेताहरूको कमजोरीको जगमा लोकप्रियतावादीहरूले आफ्नो राजनीतिक प्रगति देख्दैछन् र राजतन्त्र फर्काउने आधार तयार गर्न खोज्दैछन्। जबकि लोकतान्त्रिक गणतन्त्रमा दल र नेतृत्वको विकल्प सधैं खुला हुन्छ तर राजतन्त्रमा राजाको विकल्प खोज्न २०५८ जेठ १९ को दरबार हत्याकाण्ड जस्ता विभत्स काण्डहरू गर्नुपर्छ भन्ने कुरा लोकप्रियतावादीहरूले बुझ्न सकेका छैनन् र भन्दैछन्, अहिलेभन्दा पहिले नै राम्रो थियो।

यसै प्रसँगलाई लिएर हिमालखबर पत्रिकामा “के पहिला नेपाल राम्रो थियो ?” भन्ने शीर्षकको लेखमा रमेश कुमार लेख्छन्, “अपर्याप्त नै सही, पछिल्ला दशकमा नागरिकको जीवनको गुणस्तरमा भएको सुधार अहिलेको भन्दा पञ्चायत कालमा राम्रो थियो भन्ने भाष्य गलत छ। तर पहिलेको भन्दा कैयौं कुरामा सुधार भएतापनि अन्यत्रका देशको आर्थिक विकाससँग तुलना गर्दा नेपालको गति धीमा छ। त्यसैले नागरिकमा मुलुक अगाडि बढ्न नसकेको लागेको हो।” यो सन्दर्भलाई मिल्ने गरी प्रदीप ज्ञावली लेख्छन्, “विकासको गति सुस्त छ र रोजगारी सिर्जना निकै धीमा छ। तर पनि नेपालले प्रगति गरिरहेको छ। भएको प्रगतिलाई दिगो बनाऊँ र जहाँ चुकिएको छ, हस्तक्षेप गरौं। तर तथ्यलाई ढाकछोप गरेर पछाडि फर्कने तर्क र प्रयत्न नगरौं।”

यतिबेला लोकतान्त्रिक गणतन्त्र सिध्याउन र निरङ्कुश राजतन्त्र फर्काउन लोकप्रियतावादीहरू मध्ये कसैले स्वतन्त्रको चरित्र धारण गरेका छन् त कसैले स्वतन्त्र पार्टी खोलेर अमेरिकी घण्टी बोकेर राजनीतिमा आएका छन्। जसरी हिजो पञ्चायतका विरूद्ध जनपक्षीय उम्मेदवारको राजनीतिमार्फत हस्तक्षेप गरिएको थियो। हिजो पञ्चायत विरोधीहरूले आफ्नो राजनीतिक वैचारिक धरातल र गन्तव्य गोप्य राखेका थिएनन्। तर आज लोकप्रियतावादीहरूले सिधैं राजतन्त्र चाहिन्छ नभनेतापनि राजतन्त्रको पक्षमा राजनीति गरिरहेका छन्। यो छदमभेषी राजनीतिलाई जनताले चिन्न सकेको पनि देखिएन। यही सन्दर्भलाई लिएर लक्ष्मण श्रेष्ठले लेखेका छन्, “असफल राजनीतिले सिर्जना गरेको आक्रोशमा टेकेर मौलाइरहेको नेपाली लोकरिझाइँवाद विकासको भोक र बहुलताको निषेधको दुई खुट्टा टेकेर लम्किएको छ।”

हामीले बुझ्न सक्नुपर्छ, लोकप्रियतावादीहरूको विचार स्वेच्छाचारिता होभने गन्तव्य निङ्कुश शासन व्यवस्थामार्फत आफ्नो स्वेछाचारिता पूरा गर्नु हो। अहिले बालेन र रवीका स्वेच्छाचारिता जनताले चिन्न सकेनन् र बौद्धिक वर्गहरूले प्रतिवाद गरेनन् भने ढिलोचाँडो देशमा अर्को रूपको निरङ्कुशताले शिर उठाउने गतिविधिहरू अरु गर्न थाल्नेछ। त्यसैले लोकप्रियतावादीहरूको स्वेच्छाचारिताको एकमात्र गन्तव्य शासन व्यवस्थामा निरङ्कुशता नै हो। तर जनताले तिनका लुकेका अभिष्ट बुझ्न सकेका छैनन् भने दलहरूले त्यसको प्रतिवाद गर्ने नैतिक साहस देखाएनन्। ठूलो संख्याको बौद्धिक वर्गले आलोचना आउने डरले लोकप्रियतावादीहरूको स्वेच्छाचारिताको विरोधमा जिब्रो र कलम चलाउने आँट गरेका छैनन्।

गाउँघरमा गोबर मलको थुप्रोमाथि जसरी रायो मौलाउँछ त्यसरी नै भ्रमको राजनीतिक बजारमा अराजकता र स्वछन्दतासहितको सस्तो लोकप्रियतावाद पनि मौलाउँदैछ। मलको थुप्रोमा मौलाएको रायो धेरै समय नटिके झैं भ्रमको बजारमा मौलाएको राजनीति र राजनीतिक दल र त्यकको नेतृत्व पनि टिक्ने वैचारिक राजनीतिक आधार देखिदैन्। यसर्थ लोकप्रियतावादीको स्वेच्छाचारिताले शासन व्यवस्थामा निरङ्कुशता खोज्छ अनि देशमा नियन्त्रित अस्थिरता निम्त्याउँछ। तर यो सत्य लेख्न र बोल्न नेपालका राजनीतिक विश्लेषक तथा बौद्धिक वर्गले किन सकिरहेका छैनन् ? यो लेखक अचम्ममा परेको छ।