९ जेष्ठ २०८१, बुधबार 1716356704
Banner

वर्तमान संविधान अझै पूर्ण भएको छैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान अझै पूर्ण नरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वसन्तपुरमा सोमबार आयोजित ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ शुभारम्भ तथा ‘भाषा दिवस कार्यक्रम २०८१’ मा सहभागी हुँदै । तस्बिर ः रत्न श्रेष्ठ / रासस

उहाँले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताउनु भयो । उहाँले इमान्दार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गर्नुभयो । उहाँले नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले सङ्घर्ष गर्दै आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका निम्ति मैले लगातार सङ्घर्ष गर्दै आएको छु । आजको यस घोषणाले सङ्घीय सरकारले लागू गरिसकेको नेपाल संवतकाे कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र अन्य प्रदेशहरुलाई पनि संविधानले व्यवस्था गरे बमोजिम प्रादेशिक कानुनहरु निर्माण गरी भाषिक, सांस्कृतिक अधिकारलाई सम्बोधन गर्न दिशाबोध गर्नेछ । नेपाली जनताको त्याग र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिकसहितको संवैधानिक व्यवस्था भएको छ । यद्यपि वर्तमान संविधान पनि अझै यसलाई पूर्णता दिन बाँकी छ । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रुपमा संघर्ष गर्दै आएका थियौँ । इमान्दार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु ।’’

प्रधानमन्त्री प्रचण्डले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।