२५ बैशाख २०८१, मंगलवार 1715118952
राजनीति

भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामर्थ्यको वृद्धि प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन्।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताएका छन्। अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौती रहेको प्रधानमन्त्रीको भनाइ छ।

यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उनले बताए। उनले चुनौतीहरुको डटेर सामना गर्न नेपाली सक्षम रहेको पनि उनले बताए।

‘परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्याङ्कन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरु र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ।’ उनले सुरक्षा खतराका नयाँ आयामहरुको थप गहिरो अध्ययन र विश्लेषण गरेर आवश्यक पहलकदमी लिन सैनिक अधिकारीहरुलाई आग्रह पनि गरेका छन्।

राजनीति, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा नै राष्ट्रिय सुरक्षा हो भन्दै उनले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाएर बुझ्द्द नहुने बताए।