१४ बैशाख २०८१, शुक्रबार 1714187789
राजनीति

सभामुखलाई सिंगो संसदले विश्वास गर्नुपर्छ : महेशकुमार बर्तौला

काठमाडौं। नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्। सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताए।

उनले भने, ‘प्रतिनिधिसभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो। किनभने उहाँ रेफ्रिको भूमिकामा हुनुहुन्छ।’

उनले प्रतिनिधिसभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उनीहरुको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए। मंगलबार न्युजएजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए।