२५ बैशाख २०८१, मंगलवार 1715102168
कला/साहित्य

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ,’केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले सोधेको स्पष्टीकरणमा थप भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने” व्यवस्था छ । उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

यसका साथै आयोगले चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होइन भन्ने आधार प्रमाण के छ ? भन्दै प्रश्नसमेत गरेको छ ।

सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनुभएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?