२५ बैशाख २०८१, मंगलवार 1715113113
समाचार

पूर्वमन्त्री आलेद्धारा थ्रेसरमा परि घाइते भएकी साउँदलाई आर्थिक सहयोग

काठमाडौँ । पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री एवं प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले गहुँ चूट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भईएकी डोटीकी एक महिलालाई आज आर्थिक सहयोग गरेका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–३ का नारायण साउँदकी श्रीमती चनादेवी साउँद गहुँ चूट्ने क्रममा थ्रेसरमा परि गम्भीर घाइते भई हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी छन् ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी निज घाइते महिला साउँदको पूर्वमन्त्री आलेले आज अस्पतालमै गएर स्वास्थ्य अवस्था बुझ्नुका साथै निजको उपचारका लागि रु २० हजार आर्थिक सहयोग गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । घाइते साउँदको टाउँकामा चोट लागेको बताइएको छ ।

डोटी लगायत समग्र सुदूरपश्चिमबाट गम्भीर प्रकृतीका बिरामी तथा चोटपटक लागेर घाइते भई उपचारका लागि काठमाडौँ लगायतका ठाउँमा आएकाहरुलाई पूर्वमन्त्री आलेले बिगतदेखि नै उपचारका लागि आर्थिक सहयोग गर्ने गरेका छन् ।

पूर्वमन्त्री आलेले बिरामीहरुलाई अस्पतालमै गएर भेट्ने तथा उपचारका लागि आर्थिक सहयोग गर्दै आएका कारण त्यहाँका बिरामी तथा उनीहरुका आफन्तले पूर्वमन्त्री आलेलाई बिरामी भएका विषयमा पहिलो जानकारी दिने गरेका छन् ।