२६ बैशाख २०८१, बुधबार 1715206189
कला/साहित्य

अनुहार लुकाएर चिनिएका अभिनेता

काठमाडौँ- अभिनेता भनेकै सुन्दरसँगै अभिनय गर्न सकिने व्यक्ति भन्ने बुझिन्छ । केही वर्ष अगाडिसम्म अभिनेता सुन्दर र आकर्षक हुनुपर्छ भन्ने मान्यता थियो । तर अहिले कलात्मक चलचित्रले ती मान्यतालाई भत्काउन सफल भएको छ ।

यद्यपि अभिनेताको चाहना नै आफूलाई दर्शकले चिनुन भन्ने हुन्छ । तर केही अभिनेता छन्, जसले चलचित्रमा अनुहार नै देखाएनन् । तथापि दर्शकको प्रिय बन्न सफल भए ।

मनोज पण्डितले निर्देशन गर्नुभएको चलचित्र ‘बधशाला’ मा खगेन्द्र लामिछाने र दीपेन्द्रकुमार खनालले निर्देशक गर्नुभएको ‘पशुपति प्रसाद’ मा रवीन्द्रसिंह बानियाँले अनुहार देखाउनुभएन ।

आफ्नो अभिनयको क्षमताले दर्शकलाइ खोजिने नाम बनाएका यी दुई अभिनेताको कामको राम्रै चर्चा हुन्छ । निर्देशक पण्डितले अभिनेता लामिछानेलाई भनेर नै उक्त भूमिका दिनुभएको थियो ।

द्वन्द्वकालको बेला सैनिक ब्यारेकभित्र राजनीतिक बन्दीहरुलाई दिइएको यातनामा खेप्ने पात्रको भूमिकामा अभिनेता लामिछाने हुनुहुन्थ्यो । उहाँको काम देखिएता पनि दर्शकले चलचित्र अवधिभर अनुहार देखेनन् । त्यही खुल्दुलीले अभिनेता लामिछानेलाई दर्शक समक्ष परिचित गरायो । अनुहार देखिएका कलाकार झैँ उनी चर्चित भए ।

“मैले काम देखाउनु थियो । त्यो समयमा अवसर पाउनु है ठूलो कुरा थियो”, अभिनेता लामिछानेले भन्नुभयो, “मलाई समाजकै पात्रलाई चलचित्रमा ल्याउने ईच्छा पहिले झैँ छ ।

म चलचित्रका पात्र दर्शक वा समाजमै रहेको हुनुपर्छ भन्ने मान्यता राख्छु ।” उहाँकै लेखन रहेको चलचित्र ‘पशुपति प्रसाद’ मा अभिनेता बानियाँले अनुहारमा रङ्ग र मुकुन्डो लगाएको हनुमानको भूमिका निर्वाह गर्नुभयो ।

विस्तारै रङ्गमञ्चबाट चलचित्रमा उदाउँदै गर्नुभएका अभिनेता बानियाँको पात्रमार्फत हनुमानको मुकुन्डोलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । उहाँलाई अनुहार देखाउन पाइन भन्ने चिन्ता थिएन ।

“त्यो पात्र समाजकै एउटा बिम्ब थियो । जो समाजसँग लुक्न अर्कै पहिचान बनाएर हिँडिरहेको छ । जसको विगतसमेत जानकार छैनन्”, अभिनेता बानियाँले भन्नुभयो, “मैले त्यो पात्रमार्फत बाहिरी आवरणले पाउने माया र घृणालाई नजिकबाट बुझ्ने मौका पाए । म हनुमानको भूमिकामा हुँदा गालीगलौज गर्नेदेखि खुट्टा नै ढोगेर आशिर्वाद लिने पनि थिएँ ।”

उहाँलाई भगवान् ठानेर दिने दक्षिणालाई त्यही अन्यमा बाड्नु हुन्थ्यो । छायाङ्कनका लागि शृङ्गार गरेर भेषभूषा लगाएपछि उहाँ दिनभर त्यही पात्रमा पशुपति क्षेत्र घुमघाम गर्नुहुन्थ्यो । “जोगीहरूले माया गर्थे, किन यत्रो खर्च गरेर गधा किन्यौँ, पुच्छर किन्यौँ भनेर सम्झाउँथे । यहाँ केही छैन तिमी सहर पस भन्थे । कसैले खुट्टा ढोग्थे । म आफैँलाई हाँसो उठ्थ्यो त्यतिबेला”, अभिनेता बानियाँले भन्नुभयो, “मुकुण्डोभित्रको मान्छेलाई बाहिरी आवरणले फरक पारेको थिएन । त्यो कुरा जीवनमा लागू गर्ने प्रयास गरिरहेको छु । त्यो पात्रले विविध पक्षलाई दर्शक समक्ष राखेको थियो ।”

उहाँले ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा अभिनय गर्नुभएको छ । यसपटक उहाँलाई चिन्ने धेरै थिए । तर, पनि उक्त भूमिकाले पुनः पुराना दिन स्मरण गराएको बताउनुभयो । रङ्गमञ्च हुँदै केही चलचित्रमा काम गरेर नपाएको पहिचान उहाँलाई हनुमानको आवरणले दिएको थियो । त्यसैले अहिले पनि उहाँको प्रिय पात्रमा ‘हनुमान’ अग्रस्थानमा छ ।