२०७९ आश्विन १५ शनिबार 1664675635
Banner

काठमाडौं उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग सधैँ सकारात्मक रहेको छ, त्यसैको कडीका रूपमा महिला अधिकृत नियुक्त गर्ने तयारी गरेका छौँ ।”

काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन्स जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नै निर्वाचन अधिकृतको भूमिकामा रहनेछन् । बाँकीको १५ स्थानीय तहमा अधिकृत महिला रहने गरी तयारी गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश मात्रै नियुक्त हुँदै आएका छन् । निर्वाचन अधिकृतका रूपमा भने न्याय र प्रशासन सेवाका उपसचिव नियुक्त हुँदै आएका छन् ।

आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यसअघि नै निर्वाचन अधिकृतका रूपमा नियुक्त हुने कर्मचारीको सूची प्राप्त गरिसकेको छ ।उक्त सूचीबाट नै काठमाडौँ उपत्यकाका विभिन्न कार्यालयमा सेवामा रहेका उपसचिव श्रेणीका अधिकृत महिला नियुक्त गरिने आयोगले जनाएको छ ।

काठमाडौँ उपत्यकामा करिब १० लाखभन्दा बढी मतदाता छन् । आयोगले २०७७ साल पुस ५ गते मतदाता नामावली अद्यावधिक गर्दा काठमाडौँ जिल्लामा छ लाख, ललितपुरमा दुई लाख ३६ हजार र भक्तपुरमा एक लाख ८४ हजार मतदाता कायम थिए ।

“मतदाताको अत्यधिक चाप रहने र चुनौतीपूर्ण हुने उपत्यका जस्तो स्थानमा महिलाले सफलतापूर्वक चुनाव सम्पन्न गराएको सन्देश प्रवाह गर्न आयोगले यसप्रकारको निर्णय गर्ने हो,” प्रवक्ता पौडेलले थप्नुभयो । पौडेलले काठमाडौँ उपत्यकामा मात्रै अधिकृत महिला नियुक्त गर्ने तयारीबारे प्रष्ट्याउँदै भन्नुभयो, “काठमाडौँमा सहज रूपमा उपलब्ध हुन सक्छ, अन्य स्थानमा पनि रहनेछन् तर उपत्यकामा जसरी सबै महिला मात्रै हुने छैन् । ”
निर्वाचन कार्यक्रम बमोजिम चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्नेछन् । चैत्त २९ गते निर्वाचन अधिकृत नियुक्त हुनेछन् ।

१३ जिल्लामा महिला प्रमुख
निर्वाचन आयोग मातहातको ११ जिल्लामा निर्वाचन कार्यालय प्रमुखको रूपमा अधिकृत महिला छन् । आयोगको ७७ वटै जिल्ला र सातवटा प्रदेश गरी ८४ स्थानमा कार्यालय रहेकोमा महिला जिल्ला निर्वाचन अधिकारी ११ जिल्लामा छन् ।निर्वाचन अधिकृत महिला भने १३ जना छन् । प्रवक्ता पौडेलका अनुसार ताप्लेजुङ, सिरहा, पर्सा, सिन्धुली, ललितपुर, लमजुङ, नवलपरासी पश्चिम, गुल्मी, रोल्पा, रुक्कुम पश्चिम र दैलेखमा प्रमुख निर्वाचन अधिकारी महिला छन् । गोरखापत्रबाट