१२ बैशाख २०८१, बुधबार 1713962341
पालिका

आँधीखोला गाउँपालिकाद्वारा प्रतीक चिह्न (लोगो) सार्वजनिक

वालिङ। स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रवार आफ्नो पहिचानसहितको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक महत्त्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गर्नुभएको हो ।

“गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व झल्कने क्षेत्र तथा सम्पदाहरूलाई लोगोभित्र अङ्कित गरेका छौँ”, उहाँले भन्नुभयो, “यस लोगोले गाउँपालिकाको छुट्टै पहिचान दिनेछ ।” गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।

उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताउनुभयो । श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ ।