१७ बैशाख २०८१, सोमबार 1714383696
राजनीति

राजनीतिमा जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट र प्रतिबद्धता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व.नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व.जोशीलाई चिनेको बताए ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ। जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए’, राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा स्व। जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।

राष्ट्रपति पौडेलले स्व.जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने भन्दै योग्यता, आचरणशील र इमान्दारितामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व.जोशी रहेको पनि बताए ।