१४ बैशाख २०८१, शुक्रबार 1714171498
विश्व

पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न खोज्दा हंगामा

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरीले लगातार प्रयास गरिरहेको छ ।

अदालतको आदेशअनुसार प्रहरीले खानलाई पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले रोकेर अवरोध गरेका छन् ।

मंगलवार समर्थकलाई तितरवितर गरेर खानलाई पक्राउ गर्ने प्रहरीको प्रयास सफल हुन सकेन । खानको घरबाहिर कट्टर समर्थकको भीड भेला हुने गरेको छ । पूर्व प्रधानमन्त्री खानले प्रहरीले आफूलाई पक्राउ गरेर जेलभित्रै हत्या गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । खानलाई पक्राउ गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज समेत गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको लगातारको प्रयास, समर्थकको अवरोधबीच खानले अब के गर्लान् भन्ने बहस पाकिस्तानमा चलिरहेको छ । खानले प्रहरीमै गिरफ्तारी देलान् कि अदालतमा आत्मसमर्पण गर्लान् भन्ने चर्चा छ ।

खान प्रधानमन्त्री रहँदा विदेश भ्रमणका क्रममा प्राप्त उपहार सामग्रीलाई सरकारी अड्डामा जम्मा नगरी बेचेर पैसा कमाएको आरोपको मुद्दा सुनुवाइका क्रममा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अर्कोतिर महिला न्यायाधीश जेबा चौधरीलाई सार्वजनिक कार्यक्रमबाट धम्की दिएको आरोपमा पनि उनलाई पक्राउ गर्न खोजिएको छ ।