१८ बैशाख २०८१, मंगलवार 1714460188
Banner

दुबईमा अहिले सम्मकै ठुलो वर्षा, सडक नै बने खोला

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा इतिहासकै भारी वर्षा भएको छ । त्यहाँ सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रुप लिँदै असिनासमेत परेको थियो ।

असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला सडकहरु जलमग्न भएका थिए । समाचार संस्था एशोसियट प्रेसका अनुसार दुबईमा सन् १९४९ देखि वर्षासम्बन्धी तथ्यांक राख्न थालिएको हो । यसका आधारमा मंगलबार परेको पानी इतिहासकै भारी वर्षा भनिएको छ ।

पछिल्लो २४ चौबिस घन्टामा त्यहाँ १४२ मिलिमिटर वर्षा मापन भएको छ । वर्षाका कारण सडक नै खोला बनेपछि यातायात अवरुद्ध भएको छ । सडकमा रहेका गाडीका आधाभन्दा बढी भाग डुबेको तस्बिरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले सार्वजनिक गरेका छन् ।

विश्वमा सबैभन्दा बढी व्यस्त हुने विमानस्थलहरु मध्ये दोस्रो नम्बरमा पर्ने दुबई इन्टरनेशनल एअरपोर्टमा उडान प्रभावित भएको छ । विमानस्थलको धावनमार्गदेखि टर्मिनल भवनभित्र समेत पानी पसेको थियो ।

धावनमार्ग जलमग्न भएपछि उडान प्रभावित भएको त्यहाँको सञ्चारमाध्यहरुले जनाएका छन् । उडान प्रभावित हुँदा मानिसहरु विमानस्थलमै रोकिएका छन् । बुधबार विमानस्थल कार्यालयले ले उडान सहज हुन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ ।