२६ बैशाख २०८१, बुधबार 1715163435
Banner

राष्ट्रपति निर्वाचनमा रास्वपा अनिर्णित, सांसदलाई स्वविवेक प्रयोग गर्न दिनेबारे छलफल

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे कुनै निर्णय गरिनसकेको संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसदलाई भोट हाल्न स्वतन्त्र अधिकार दिनेबारे छलफल सुरु गरेको छ ।
हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले राष्ट्रपति चुनावलाई लिएर कुनै निर्णय गरेको छैन। बैठकको एजेन्डा चितवन-२ मा हुने उपनिर्वाचन मात्र थियो । यद्यपि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने अनौपचारिक छलफल भएपनि कुनै निर्णय भएको छैन ।

पार्टीगत हिसाबले रास्वपा नेकपा एमालेसँग नजिक छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न निकै जोड बल लगाएका थिए । यसअघि रविलाई गृह दिन पनि ओलीकै भूमिका थियो । त्यसको गुन तिर्नका लागि पनि एमाले उम्मेदवारलाई समर्थन गर्नुपर्ने नैतिक दबाब छ ।

अर्कोतर्फ यति बेला सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग पनि रास्वपाले दूरी बढाउन चाहेको छैन । सरकारलाई दिएको समर्थन कायम राख्नुको कारण पनि यही नै हो ।

चितवनमा रविले चुनाव जितेपछि पार्टीलाई सरकारमा फर्किने बाटो बन्द नहोस् भनेर यो रणनीति बनाइएको रास्वपा स्रोतको दाबी छ । यो कोणबाट हेर्दा उसले नयाँ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्नुपर्ने हुन्छ ।

यही दोहोरो दबाबका कारण रास्वपाले राष्ट्रपति चुनावलाई लिएर पार्टीगत निर्णय नगर्ने सम्भावना बढेको स्रोत बताउँछ । सांसदहरूलाई नै स्वविवेकीय निर्णय गर्ने अधिकार प्रदान गर्न सकिने विषयमा सरसल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

रास्वपा प्रवक्ता डा.मुकुल ढकाल राष्ट्रपति चुनावमा के गर्ने भनेर टुंगोमा नपुगिसकेको बताउँछन् । गोप्य मतदान हुने भएकाले पार्टीले ह्विप लगाउनु कति सान्दर्भिक हुन्छ भन्ने कोणबाट पनि बहस भइरहेको उनको भनाइ छ ।

‘गोप्य मतदानको अर्थ राष्ट्रपति चयनबारे पार्टीले निर्णय लिनु हुँदैन भन्ने पो संविधानको मर्म हो कि भनेर हामी संविधानविदहरुसँग छलफल गरिरहेका छौँ,’ उनले भने ।