२५ बैशाख २०८१, मंगलवार 1715118875
प्रदेश

बञ्चरे डाँडामा ‘क्यापिङ्’ लागि माटो पाउन कठिन

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौँ उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ ।

फोहरलाई खुला छोड्न पाइँदैन । त्यसलाई हरेक दिन छोप्नुपर्छ । यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ । माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो । कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहरलाई व्यवस्थापन गर्नका लागि दैनिक ५० टन माटोको आवश्यकता पर्छ । दैनिकरुपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ । उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ सधँै यसरीले ल्याउन मिल्ले अवस्था नभएको प्रवक्ता मानन्धरले बताउनुभयो । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेका छन् ।

उपत्यकाको फोहर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको हो । विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहरको व्यवस्थापनको काम हुँदा लेवल मिलाउन अलि समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग कामपाले आग्रहसमेत गरेको छ । ‘सेल वान’मा फोहरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ । अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरको भनाइ छ । अहिले फोहरबाट निष्कने तरल पदार्थ (लिचड) रहने स्थान पनि भरिएको कारण समस्या भएको कामपाको भनाइ छ । गत साउन महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहर अन्तिम विसर्जन स्थानमा लानुपर्ने बाध्यताको कारण छोटो समयमानै लिचड राख्ने स्थान भरीएको बताइएको छ ।