४ जेष्ठ २०८१, शुक्रबार 1715931316
कला/साहित्य

जुम्लामा ठूली भैली खेल्न सुरु

जुम्ला- जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ ।

औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्न सुरु भएको चन्दननाथ नगरपालिका–१ का संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जिल्लामा भैलो खेल्ने चलनको सुरुआत भएको मानिन्छ ।

बडाहाकिमले भैलेरा र भैलेरीलाई चार–चार पैसा दिने चलन रहेको संस्कृतिसम्बन्धी जानकार आचार्यले जानकारी दिनुभयो ।

चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको यहाँका जानकार बताउँछन् । ठूली भैलो सुरु भएको दिनदेखि गाउँघरमा गएर भैलो खेल्न सुरु भएको तिला गाउँपालिका–१ का स्थानीयवासी कोलबहादुर रावतले बताउनुभयो । हिउँदमा ठूली भैलो खेल्न जाडोले सकस हुने गरेको छ ।

स्थानीयवासी रावतले भन्नुभयो, “हाम्रो संस्कृतिलाई बचाउन स्थानीय सरकारले पनि काम गरेको छ । तिला गाउँपालिका पाँचवटा गाउँमै पुगेर ठूली भैलो खेलेको स्थानीयवासी रावतको भनाइ छ ।” पछिल्लो समयमा आधुनिक परिवेशअनुसार विस्तारै त्यो चलन हराउँदै गएको स्थानीयवासी हिमाल कार्कीले बताउनुभयो ।

ठूली भैलो सुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ ।