२५ बैशाख २०८१, मंगलवार 1715140918
कला/साहित्य

अमृत दोर्जे लामाद्वारा लिखित आत्मकथा ‘पर्खाइ’ सार्वजनिक

काठमाडौं । अमृत दोर्जे लामाद्वारा लिखित आत्मकथा ‘पर्खाइ’ सार्वजनिक गरिएको छ । जीवनका तीतामिठा भोगाइलाई समेटिएर तयार पारिएको ‘पर्खाइ’ बूढानीलकण्ठस्थित हात्तीगौँडामा भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

लेखक लामाले ‘पर्खाइ’ लाई आफूले जीवनमा गरेका सङ्घर्ष र दुःख बिसाउने सङ्गमस्थलको विन्दु बनाएका छन् । विसं २००५ मा जन्मिएका लामाले घरको दुःखलाई सम्झेर थोरै भए पनि मलमपट्टी लगाउने उद्देश्यले कलिलो उमेरमा राजधानी छिरेपछि सङ्घर्षका क्रममा पाएका दुःख र भोगाइलाई किताबको पानामा उतार्नुभएको छ ।

‘पर्खाइ’ विमोचन पश्चात उहाँले भन्नुभयो, “जीवन बुझ्नका लागि सङ्घर्ष गर्न जरुरी छ । मैले पढ्न नपाए पनि दुःख सुख गर्दै छोरीलाई पढाएका कारण यो स्थानसम्म आइपुग्न सफल भएको छु । खाइ नखाई छोरीलाई पढाएको थिएँ । उनीहरुको प्रगति देख्दा अहिले सन्तुष्ट छु ।”

साहित्यकार स्नेह सायमीले जीवनलाई बुझ्नका लागि एकपटक सबैले ‘पर्खाइ’ को अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले पुस्तक लेखक लामाको ‘पर्खाइ’ मात्र नभएर हामी सबैको प्रेरणाको स्रोत भएका कारण यसबाट धेरै पाठ सिक्न सकिने उल्लेख गर्नुभयो । लेखक लामाकी जेठी छोरी सीता लामाले बुवाले सिकाउनु भएको शिक्षालाई आत्मसाथ गर्दे अगाडि बढेका कारण छ दिदिबहिनी नै पौरखी र अब्बल भएको बताउनुभयो । उहाँले दुःखको समुन्द्रमा डुब्दा पनि नआत्तिई आफूहरूलाई अगाडि बढ्न प्रेरणा दिनुभएको बताउनुभयो ।

लेखक लामाले लेखेको पर्खाइमा दुःख जीवनको सारथी हो, दुःख पाइयो भन्दैमा कहिले आत्तिन नहुने र दुःखको सामना गर्दै मेहनत गर्दा सफलता मिल्ने खालका सन्देश पनि दिइएको छ । लेखक लामाका छ छोरी छन् । आत्मकथा पर्खाइभित्र अभाव र गरिबी, छोराछोरी बराबरी, पसिनाको मूल्यः मीठो र दीगोलगायत १६ शीर्षक समावेश गरिएका छन् ।