२४ बैशाख २०८१, सोमबार 1715059490
Banner

विजय गच्छदार, प्रभु साह, सरिता गिरी लगायत ९ जनाको उम्मेदवारी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ ।

अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सवोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

नैतिक पतनका मुद्धा खेपेका विजय कुमार गच्छेदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतो, युद्ध विक्रम तामाङ र रेवतराज पुरीले दिएको उम्मेदवारी खारेज गरी पाउँ भनी अधिवक्ता आचार्यले रिट दायर गर्नुभएको हो । 

नेपाली कांग्रेसले सुनसरी क्षेत्र  नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा बिजय कुमार गच्छेदारलाई उम्मेदवार बनाएको छ । त्यस्तै तनहुको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गोबिन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसैगरी बिक्रम पाण्डेले चितवन जिल्ला क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, प्रभु साहले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यस्तै सरिता गिरीले सिरहाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।

यसैगरी टेकबहादुर गुरुङले मनाङ जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै लक्ष्मी महतोले महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङले सिन्धुपाल्चोक क्षेत्र १ (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

गगन भन्ने रेवतराज पुरीले झापा जिल्ला क्षेत्र नम्बर ५ (ख) बाट नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनु भएको छ ।