१४ बैशाख २०८१, शुक्रबार 1714189759
Banner

सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय

सर्वोच्च अदालतमा इजलास बिहान ११ बजेबाट बस्ने भएको छ । सर्वोच्चमा शुक्रबार बसेको फुलकोर्ट बैठकले इजलास बिहान ११ बजेबाट बस्ने निर्णय भएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिनुभयो ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको संयुक्त आन्दोलनका कारण सर्वोच्चमा मध्याह्न १२ बजेपछि मात्रै इजलास बस्ने गरेको थियो । तर, शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजेबाटै बस्ने निर्णय गरेको न्यायाधीश कार्कीले बताउनुभयो ।


यसैगरी, बैठकमा न्यायाधीश कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयमा पनि छलफल भएको छ । ‘प्रतिवेदनमा छलफल प्रारम्भ भएको छ । र फेरि एक पटक प्रतिवेदनमाथि अध्ययन गरेर टुङ्गोमा पु-र्याउने सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘यसको लागि अर्को बैठक बस्ने छ । अर्को बैठकमा एजेण्डा कार्ययोजना सम्बन्धी एजेण्डाहरु माथि छलफल गर्ने कुरा भएको । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।’
बैठकमा गोलाप्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि प्रशासनलाई जिम्मेवारी दिने र पूर्ण स्वचालित गोला प्रणालीमा जानका लागि आवश्यक नीति तयार गर्न यसअघि बनेको समितिले प्रतिवेदन दिने सहमति पनि भएको न्यायाधीश कार्कीले बताउनुभयो ।
गोलाप्रथा निर्देशिका संशोधन गरेर अन्तिम रुप दिइने सहमति भएको छ । ‘भैपरि–पुरक पेशी निकाल्ने सन्दर्भमा समस्या भएको छ र, त्यसलाई हटाउने सहमति भएको छ । त्यसैले निर्देशिका संशोधन गरेर अन्तिम रुप दिएर पठाउने कुरा भएको छ,’ उहाँले भन्नुभयो ।