८ बैशाख २०८१, शनिबार 1713641695
पर्यटन

त्रियुगाको १ नं. वडा सिमसार पर्यटनमा जोड

उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । वडा नं. क्षेत्रमा प्रशस्त सिमसार रहेको र ती क्षेत्रको संरक्षणमा जोड दिँदै पर्यटन प्रवद्र्धनमा लागि परेको मेयर बलदेव चौधरीले बताउनुभयो । त्यसका लागि स्थानीय वडावासीहरु पनि उत्तिकै लागी परेका छन् ।
यसैक्रममा वडाको धनगडीस्थित साकेलाथान, भिमसेनथान पर्यटन प्रवर्धन तथा बनभोज स्थल निर्माण भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयको विशेष पहल तथा जनश्रमदानबाट गाउँ नजिकैको रमणीय जङ्गलमा उक्त स्थल निर्माण भएको हो ।

वन संरक्षणसंगै त्यहाँरहेको सिमसारको पानी पोखरीमा जम्मा परी सिँचाइ गर्ने, राई समयदायको साकेलाथान र थारु समुदायको भीमसेनथान, राजाजी मन्दिर जस्ता धार्मिक संरचना, वनभाेज स्थल निर्माणको काम भएको छ । जङ्गल सफारी गरेर मनोरञ्जन लिन तथा पिकनिक खानका लागि राम्रो स्थल बनाइएको उपभोक्ता समितिका सदस्य एवम् अमाहा वन उपभोक्ता समूहको कोषाध्यक्ष लङ्कराज राईले बताउनुभयो । राईका अनुसार त्यहाँ उकालो चढ्ने सिँढी, २ वटा कटेज र कटेजसम्म जोडिएको सिमेन्ट ढलान बाटो निर्माण छ । पोखरी निर्माण गरी सिँचाइका लागि निकास गेट बनाइएको छ ।

स्थानीयको आकर्षणको केन्द्र बनेको र आन्तरिक पर्यटन बढ्न थालेको उक्त स्थानको नगरपालिकाका मेयर चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, सामाजिक विकास समिति प्रमुख विश्वजित राई, वडाध्यक्ष मनोज चौधरी लगायतले बिहीबार अवलोकन, भ्रमण गरेका छन् । सो स्थानको उद्घाटनसमेत गर्दै मेयर चौधरीले नगरपालिकाको तर्फबाट त्यहाँ चर्पी, खानेपानीको ब्यवस्था लगायत थप संरचना र निर्माणको काम गर्ने बचन दिनुभएको छ । साथै, धनगढी लगायत रुपनी क्षेत्रमा ठुलो मात्रामा सिमसार क्षेत्र रहेकोले ती सबैको संरक्षण नगरपालिकाले गर्ने र सिमसार पर्यटन विकास गर्ने बताउनुभयो । शीतल जङ्गल क्षेत्र र प्राकृतिक पर्यावरण प्रशस्त रहेकोले हात्ती सफारीसमेतको ब्यवस्था मिलाउने उहाँकाे भनाइ छ ।

नगरपालिका टोलीले धनगढी लगायत विभिन्न सिमसार क्षेत्रको अवलोकन, भ्रमण गरेको थियो । सोही वडामा रहेको परेवा भिर, परेवाखोप सिमसार क्षेत्र पर्यटन आकर्षणको केन्द्र रहेको वडाध्यक्ष मनोजकुमार चौधरीले बताउनुभयो । नगरक्षेत्रको १६ वटा वडाहरु सबैको आ–आप्mनै विशेषता रहेकोमा १ नं. वडा वन जङ्गलको धनीका साथै विशेष सिमसार क्षेत्र रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । त्यसको संरक्षण र प्रचार प्रसार गरेर सिमसार पर्यटनको विकास गर्ने पालिकाको योजना रहेको उहाँले बताउनुभयो ।

स्थानीयबासीको पहल तथा भुमिका, सामुदायिक वन समुहहरुको सहयोग र नगरपालिकाको आर्थिक सहयोगबाट संरक्षणका काम तथा केही संरचनाहरु निर्माणको काम भइरहे पनि यसलाई विशेष योजनाका साथ ठूलो लगानी गरेर पर्यटन प्रवद्र्धन गर्न सके नगरपालिका मात्र नभइ सिङ्गो प्रदेशकै विकासमा टेवा पुग्ने सामाजिक विकास प्रमुख विश्वजित राईले बताउनुभयो ।

यस क्षेत्रमा ठुला तालतलैया निर्माण गरी माछापालन तथा ढुङ्गा सफारी, जङ्गल सफारी, जङ्गल रिसोर्ट, पशुपंक्षी पालन, तरकारी खेती गरेर राम्रो आयआर्जनको सम्भावना देखिएको उहाँले बताउनुभयो । त्यसक्षेत्रमा चराहरुको संरक्षणसमेत हुने देखिन्छ । अन्य वडाहरु भन्दा फरक तर विशेष विशेषताको सो वडाको समृद्धीलाई सिमसार पर्यटनसंग जोड्ने जोड देखिएको छ ।