१७ बैशाख २०८१, सोमबार 1714453315
Banner

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद विकासका लागि आवश्यक स्रोत, साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले विशेष जोड दिनुपर्छ भन्नुभयो ।

“ गाउँगाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदको पनि विकास गर्नुपर्छ । शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेषत खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ ।”

विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको जनाउँदै उहाँले विद्यार्थी खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुन्छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

उहाँले विद्यालय तहमा केन्द्रित रहेर खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन योगदान पु¥याउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य हो भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यस प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको जनाउँदै आफूले मन्त्रालय सम्हालेदेखि दशरथ रङ्गशालाको मैदानलगायतको क्षेत्रमा सुधार भएको दाबी गर्नुभयो ।

राष्ट्रपति पौडेलले पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक टर्च प्रदान गरेसँगै पलेशाले दीप प्रज्ज्वलन गर्नुभयो । दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराएको थियो । टर्च परिक्रमा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हनुहुन्थ्यो ।

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसक्नुभएको छ ।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी हुनुहुन्छ । पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक जित्नुभएको थियो ।

तीनदिने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सातै प्रदेशबाट छ सय ८६ खेलाडीको सहभागिता रहेको छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्णपदक, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्रछात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै उद्घाटन कार्यक्रममा मार्च पास, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स सङ्घको प्रस्तुति, नाइटिङगेल स्कुलका विद्यार्थीको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुति रहेको थियो ।