१७ बैशाख २०८१, सोमबार 1714430843
अर्थ

समृद्धिका लागि कृषि र पर्यटनमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री महासेठ

सिरहा, ३० चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देश समृद्ध बनाउन कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । हिजोदेखि सिरहाको लहानमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सुरु भएको ‘लहान एक्पो ः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ को उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले देशको सबलता भनेकै कृषि र पर्यटन भएकाले सरकारले सो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “देशको आर्थिक वृद्धिदर कमजोर रहेको छ ।

त्यसको लागि नेपाली जनशक्तिलाई कृषिमा आकर्षित गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नु आजको आवश्यकता हो । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो । सिराहा र मधेस प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको विकासमार्फत् पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै महासेठले धार्मिक, व्यापारिक मेला तथा महोत्सवले त्यस कार्यमा सहयोग पुग्नेसमेत बताउनुभयो ।

‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आजदेखि सुरू भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताका एक सय २१ भन्दा बढी कक्ष राखिएका छन् ।