१७ बैशाख २०८१, सोमबार 1714420400
Banner

नक्कली सुन देखाएर चार करोड ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ऋण लिएका थिए। निजलाई उच्च अदालत विराटनगरबाट ९८ लाख ८५ हजार पाँच सय ६४ रुपियाँ बिगो र तीन वर्ष कैदको फैसला भएको थियो।

प्रहरीका अनुसार स्थायी घर सप्तरीको कन्चनरुप नगरपालिका – ८ भइ हाल काठमाडौं बौद्ध बस्ने उनले लव वलि समेत विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भनी एक करोड रुपियाँ ठगी गरी फरार रहेका थिए।

यस्तै, राधेश्याम रेग्मीको झोलाबाट अपरिचित व्यक्तिले ९७ हजार रुपियाँ नगद र खाली चेक चोरी गर्ने ४० वर्षीय रेशम अधिकारी पक्राउ परेका छन्।

स्थायी घर सिन्धुपाल्चोक बलेफी गाउँपालिका – ८ भइ हाल काठमाडौं शंखमुल बस्ने अधिकारीलाई बैङ्कमा सोधपुछ तथा सीसीटिभीबाट पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, रोमानिया पठाउने भनी दुई लाख ६० हजार रुपियाँ ठगी गर्ने २८ वर्षीय सुरेश राना पक्राउ परेका छन्।