२४ बैशाख २०८१, सोमबार 1715032118
पालिका

बूढानीलकण्ठ नगरपालिका ६ नम्वर वडाको आफनै सुविधासम्पन्न भवन बन्ने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ ले सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ को न्यू कोलोनी खड्का गाउँमा वडाको भवन बन्ने भएको हो । बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले संयुक्त रुपमा आज प्रसासनिक भवनको जग पुजा तथा शिलान्यास गर्नुभयो ।

भवन शिलान्यास कार्यक्रममा बोल्नुहुदै मेयर मिठाराम अधिकारीले आफनो कार्यकालमा नगरपालिकाका १३ वटै वडालाई आफनै सुविधासम्पन्न भवनमा सार्ने योजना रहेको बताउनुभयो ।

जस अन्र्तगत छिटै वडा नम्बर १,२,३ को कार्यालय आफनै भवनमा सर्ने तयारी भइरहेको र ९,४,१२ वडा कार्यालयको भवन शिलान्यास पनि छिटै गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो ।

बूढानिलकण्ठ नगरबासीलाई वडाको काममा सुविधा दिनका लागि नगरपालिकाबाट बजेट निकासा गरेर जति सक्दो छिटो वडाका आधुनिक भवन निमार्ण गरिने उहाँको जोड थियो ।

शिलान्यास कार्यक्रममा बूनपा ६ का वडा अध्यक्ष रवि खड्काले वडाको आफनै भवन हुनुपर्छ भन्ने मान्यताका आधारमा ६ नम्बर वडाको सुविधा सम्पन्न भवन बन्न लागेको बताउनुभयो । करिब १५ आना क्षेत्रफलमा निमार्ण हुने उक्त भवनमा वडा अध्यक्षको कार्यकक्ष, वडा सदस्यको कार्यकक्ष, राजस्व शाखा, दर्ता चलानी शाखा, परिचयपत्र, नागरिकता दिने सेवा लगायत अन्डरग्राउण्ड पार्किङ्ग, योगा हल रहेका छन । भवनलाई पुर्ण रुपमा अपांङ्गमैत्री बनाइएको वडा अध्यक्ष रवि खड्काले बताउनुभयो ।

करिब ५ करोड ६५ लाख लागतमा निमार्ण कार्य सकिने लक्ष्य राखिएको वडा भवनमा १३ वटा कोठा रहने छन् । निमार्ण कार्य थालेको करिब १८ महिनामा भवन निमार्णको कार्य सम्पन्न हुने वडा अध्यक्ष खड्काले बताउनुभयो ।

वडा भवनको जग पुजा कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, वडा नम्बर १,७,८,९,१०,११ र १२ का वडा अध्यक्षहरु साथै स्थानीयको सहभागिता रहेको थियो ।