१७ बैशाख २०८१, सोमबार 1714416812
Banner

राष्ट्र बैंकले भन्यो, नेपालको समग्र बैंकिङ क्षेत्र सक्षम र सवल छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी उक्त बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तिय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले भ्रामक अभिव्यक्ति दिएको र दुष्प्रचार गरेको भन्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएको हो । राष्ट्र बैंकले बैकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गरेको छ । जारी विज्ञप्तीमा भनिएको छ–‘पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसुचकहरु यस बैंकको निर्देशनअनुरुप नै रहेको छ । कुनै बैंक तथा वित्तिय संस्थामा यी परिसुचकहरु तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आईरहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदा र निरीक्षण÷सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतमा राखेको हुन्छ ।’

राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तिय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सवल रहेको दाबी गरेको छ ।