२४ बैशाख २०८१, सोमबार 1715059965
Banner

विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी १ सय २१ वर्षीय वृद्धा बाटुलीको निधन

नुवाकोट । विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ । आगामी चैत्र १० गते उनले आफ्नो १२२ औं जन्मदिन मनाउँदै थिइन् । सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका ८ थानसिङ छापथोककी १२१ वर्षिया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको नाम गिनिज बुकमा लेखाउने अभियान रोकिएको छ ।

उनलाई विश्वकै ज्येष्ठ नागरिक भएको दावी गरिएको छ । लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको परिवारजनको दावी रहेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड छ ।

उनलाई गाउँमा घर बनाइएको छ भने पूर्व प्रदेश मन्त्रि तथा सांसद एवं स्थानीय तहको पहलमा मासिक रुपमा नियमित भत्ता उपलब्ध गराइएको थियो । सामान्य विरामी रहेकी बाटुलीले तीन दिन अगाडीदेखि सामान्य खानेकुरासमेत खान छाडेकी थिइन् । वृद्धाको अक्सिजनको मात्रासमेत कमी भएको थियो । उनको आफ्नै निवासमा शुक्रवार बुलुकी निधन भएको पनाती श्या ढुंगानाले जानकारी दिनुभयो । वृद्धा बाटुलीको इच्छाअनुसार गएराती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

दिवंगत वृद्धा बाटुलीको पार्थिव शरिरमा उनका ८२ वर्षिय छोरा नेत्रप्रसाद लामिछानेले दागवत्ति दिनुभयो । बाटुलीका दुई छोरा र तीन छोरीमध्ये हाल नेत्रप्रसाद मात्र जिवित रहेका छन् । वृद्धा बाटुलीलाई विश्व रेकर्डमा नाम लेखाउन विभिन्न क्षेत्रवाट प्रयास गरिएपनि लेखाउन सकिएको थिएन । उनलाई सरकारीस्तरवाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ । वृद्धालाई भेट्न सरकारीस्तरका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सयौं सर्वसाधारण उनको घर ककनीको मकैचौर पुगेका थिए ।

विसं १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक वांसवारी गाविस – १ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखवाट जन्मिएकी वृद्धा वाटुली नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गापा ८ छापथोकमा छविलाल लामिछानेसंग विवाह गरेर आएको अभिलेखमा उल्लेख रहेको छ । हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनाती छन् ।

यसअघि, ‘जीवित देवी’को उपमा पाएकी नुवाकोटकी वृद्धा बाटुली लामिछाने आगामी चैत्र १० गते १२२ औं जन्मदिन मनाउने क्रममा थिइन् । बाटुलीलाई २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको थियो ।