६ जेष्ठ २०८१, आईतवार 1716172109
कला/साहित्य

सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु

चितवन । सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु हुंँदैछ । रत्ननगरनगरपालिका वडा नम्बर ७ चित्रसारी खेल मैदानमा हुने फेस्टिभलको बागमती प्रदेशका सांस्कृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्याराभान नेपालका आयोजनामा हुन लागेको फेस्टिभलको फेस्टिभल सुरु हुनु पूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने तयारी गरिएको अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको पौडेलले बताउनु भयो । समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गरिएको उहाँको भनाई छ ।

फेस्टिभलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० बढी स्टलहरू रहेका छन् । फेस्टिभलको ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ ।

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो फेस्टिभलमा आठ राष्ट्रका चलचित्रकर्मीहरूको उपस्थिति तथा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदान प्रदानलाई बढावा दिने र दक्षिण एशियाली कथाकथनको समृद्धिको उत्सवका रुपमा कथानक चलचित्र, वृत्तचित्र, लघु चलचित्र बीच प्रतिस्पर्धा गराइने छ । फेस्टिभलमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिनुभयो ।

फेस्टिभलभल लमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रहरूको प्रदर्शन, चलचित्रकर्मीहरूको जीवनी सम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकास सम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी चितवन र पश्चिम चितवनका खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने पोखरेलले बताउनु भयो ।

चलचित्रको माध्यमबाट पर्यटन विकास गर्ने र सौराहालाई अन्तर्राष्ट्रिय स्तरको सुटिङ स्पटको रुपमा विकास गर्ने योजना रहेको पोखरेलले बताउनु भयो । फेस्टिभलको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय स्तरका कलाकारहरू राजु परियार, जीवन शर्मा, शान्ति श्री परियार, शिला आले, पशुपति शर्मा, हिमाल सागर, टीका प्रसाईँ, सरोज विरही, ज्योति मगर, कृष्ण कँडेल, शम्भुजित बास्कोटा, एलिना चौहान, रचना रिमाल, भाइवर साइमन, कुल व्वाई, साथै स्थानीय कलाकार तथा व्याण्डको प्रस्तुती रहने क्याराभान नेपालकी सदस्य शान्ति पाख्रिनले जानकारी दिनुभयो । फेस्टिभल पाँच दिन सम्म चल्ने छ ।