१४ बैशाख २०८१, शुक्रबार 1714170454
Banner

सत्ता गठबन्धन तालमेल : महानगरमा केन्द्रबाटै टिकट, ६ हजार ७ सय ४७ तहमा उम्मेदवार छान्न संयन्त्र बनाइँदै

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो । बाँकी ६ हजार ७ सय ४७ तहमा भने तालमेल’ निर्णय गर्न प्रदेश, जिल्ला र स्थानीय तहलाई अधिकार दिने र तहगत रूपमा संयुक्त संयन्त्र बनाउने सहमति शीर्ष तहमा भएको छ ।

पाँच दलीय गठबन्धनले तालमेलको मोडालिटी तय गर्न भन्दै बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिकाको उम्मेदवार केन्द्रबाटै तय हुने र बाँकी स्थानीय तहमा तहगत रूपमा संयुक्त संयन्त्रमार्फत निर्णय हुने जानकारी दिए ।

उनले कुन तहमा कसरी कोसँग तालमेल गर्ने भन्ने विषयमा मोडालिटी बनाइने र सोही मोडालिटीअनुसार तल्लो तहसम्म नै संयुक्त संयन्त्रले उम्मेदवार छान्ने बताए ।‘प्रदेश, जिल्ला र स्थानीय तहमा उम्मेदवार तय गर्न संयुक्त संयन्त्र बनाउने तयारी भइरहेको छ, कहाँ कसरी तालमेल गर्ने भनेर मोडालिटी पनि बनाउँदै छौं, केन्द्रीय तहबाट महानगरको उम्मेदवार तय हुन्छ, अन्य तहमा तल बन्ने संयन्त्रबाटै निर्णय हुन्छ,’ पाँचदलीय चुनावी समितिका संयोजक पौडेलले राजधानीसँग भने ।

स्रोतका अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिने गरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिने गरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको छ ।

सोमबार बसेको गठबन्धनको बैठकमार्फत शीर्ष नेतृत्वले भने उम्मेदवार नै तय नगरी गठबन्धनका उम्मेदवार जिताउन संयुक्त रूपमा सार्वजनिक वक्तव्य नै जारी गरिसकेका छन् ।

‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आह्वान गर्छौं,’ पाँच दलद्वारा सोमबार जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा परिवर्तनलाई आत्मसात् गर्न नसक्ने र नचाहने शक्ति परिवर्तनविरुद्ध अझै पनि षडयन्त्र गरिरहेकाले सचेत हुन जरुरी रहेको भनिएको छ । राजधानी दैनिकमा खबर छ ।