१५ बैशाख २०८१, शनिबार 1714200382
खेलकुद

नेकोस ताप्लेजुङमा दिवस चोङवाङको नेतृत्वमा ४८ सदस्य निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले ताप्लेजुङमा पनि आफ्नो पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । सोमबार ताप्लेजुङमा भएको एक विशेष कार्यक्रममा महासंघको जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक कमिटीका संयोजक पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले दिवस चोङवाङको नेतृत्वमा ४८ सदस्य निर्वाचित गरेको छ ।

अधिवेशनमा नेकपा एमालेका प्रदेश १ का सांसद तथा पूर्वमन्त्री बल बहादुर सामसोहङ, नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य सन्तोष वान्तवा, प्रदेश १ का नेपाल खेलकुद महासंघका अध्यक्ष राजकुमार थापा, प्रदेश सभा सदस्य होमकुमारी सावा लिम्बु, नेपाल खेलकुद महासंघका सचिवालय सदस्य मणिशंकर पोमुलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष बस्नेतले नेपाल खेलकुद महासंघका लागि ताप्लेजुङ उर्वर भूमि भएको र यो जिल्लाले देशलाई विश्वसामु चिनाउने खेलाडी उत्पादन गर्न सक्नेमा आफू विश्वस्त भएको बताएका छन् । उनले अब जिल्लाको नयाँ कार्यसमिति स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु पर्ने र देश र खेलकुद क्षेत्रलाई समृद्ध बनाउन अब एमालेको विकल्प नभएको पनि बताएका छन् । नेपाल खेलकुद महासंघले स्थानीय निर्वाचनलाई लक्षित गर्दै धरमबहादुर लामाको संयोजकत्वमा १ हजारभन्दा बढी सदस्य रहनेगरि अभियान घोषणा गरिसकेको छ । त्यस्तै, नेपाल खेलकुद महासंघले ७७ जिल्लामा नै ५ वैशाखभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।