१५ बैशाख २०८१, शनिबार 1714213944
राजनीति

निर्वाचनमा ६ करोड खर्च भएको सञ्चारमाध्यममा बताएपछि शशांक कोइरालासँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।

नवलपरासी १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उहाँले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।

कोइरालाले हालै नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नु परेको बताउनु भएको थियो ।