८ जेष्ठ २०८१, मंगलवार 1716350989
Banner

मतदानपछि सुहाङले भने, जित्नेमा विश्वस्त छु

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदान गरेपछि उम्मेदवार सुहाङले उत्साहित भएको बताएका छन् । मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले इलाम नयाँ युगमा अग्रसर भएको प्रतिक्रिया दिए । उनले आफू पहिलो पटक उम्मेदवार भएको र आफू उत्साहित रहेको पनि बताए । उनले मतदान गर्दै गर्दा बुबा सुवा नेम्वाङलाई सम्झेर भावुक भएको उल्लेख गर्दै आफूले जित्नेमा आशावादी रहेको बताए ।

इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम २ मा एक लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका छन् ।