३० बैशाख २०८१, आईतवार 1715547706
पालिका

बालाजु औद्योगिक क्षेत्रमा बारूण यन्त्र शाखा कार्यालय भवनको शिलान्यास

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा बारूण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास गरिएको छ। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, काठमाडौं महानगरपालिका वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरूले जग पूजा गरेका हुन्।

भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रूपैयाँ गरिएको थियो। बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रूपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ।

‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ, यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारूण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक पुर्‍याउँदै लगेको छ,’ विपद व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापाले शिलान्यासका अवसरमा भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ, अहिले बालाजुमा निर्माण कार्यको थालनी गर्‍यौँ, यो सेवा विस्तारित हुने चरणमा छ, महानगरपालिकाले योजनाबद्ध रूपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ।’

आफ्नो वडामा यसप्रकार आपतकालीन साधन उपकरण राख्ने भवन विस्तार हुनु, वडावासीले तिरेको कर वडाकै नागरिकको सुरक्षाका लागि फिर्ता भएको महसुस गरेको शिलान्यासपछि संक्षिप्त प्रतिक्रियामा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले प्रतिक्रिया दिए।

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्पप्रतिरोधी निर्माण शैली र विधि अवलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ। पछाडिबाट ५ तलाको हुनेछ। ६ हजार ६६५।९० वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको भुइँतला १ हजार ३३२ वर्गफुटको हुनेछ।

भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरूप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ। भित्री भाग आधुनिक शैलीको हुनेछ। भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्याङ्कर राख्ने ठाउँ हुनेछ।

जमिनमुनि र माथि छतमा गरि १ लाख लिटरका पानी ट्याङ्ककी रहने छन्। भवनको माथिल्लो तलामा विपद व्यवस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इन्डोर स्पोर्टस हल हुनेछ।

पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरूका लागि आवाससहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ। जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षासम्बन्धी सरसामान राख्ने कोठा हुनेछन्।