२४ बैशाख २०८१, सोमबार 1715040584
शिक्षा /स्वास्थ्य

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकारले शिक्षकसँग गरेको वार्ता निष्कर्षविहीन भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको हो ।

यद्यपि वार्ता सकारात्मक रहेको गृहमन्त्रीका प्रस सल्लाहकार कमल थापाले बताए । वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारीको पनि सहभागिता थियो । शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।

जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरानी खेप्नुपरेको छ । कतिपय गन्तव्यमा पुग्न नसकेका कारण पैदलै हिडन बाध्य भएका छन् । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।