६ जेष्ठ २०८१, आईतवार 1716179730
कला/साहित्य

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य

हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन् ।

महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन् । काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ । देउडामार्फत यहाँ सुखदुःख, मिलन विछोड तथा मायाप्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन् । यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा देउडा खेल खेल्ने चलन छ ।

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा खप्तड समाजले देउडा प्रदर्शनीको तयारी गरेको छ । समाजका अध्यक्ष एवं भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले समाजको अगुवाइमा महेन्द्र स्मारकमा देउडा प्रदर्शन गरिने बताउनुभयो ।

खड्काले भन्नुभयो–“देउडा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहाँ देउडा प्रदर्शनी गर्दैै आएका छौंँ ।”

यहाँको बेल्डाडी, दोधारा चादँनी, शुक्लाफाँटा, कृष्णपुरका साथै भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हरेक साझँ देउडा खेलिरहेका प्रशस्तै भेटिन्छन् । आगामी शनिबार कञ्चनपुर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले समेत महेन्द्रनगरमा बृहत खुल्ला देउडा तथा श्रष्टा सम्मान आयोजना गर्दैछ । प्रतिष्ठानका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ले सुदूरको मौलिक कला, संस्कृतिको पर्वद्धनका लागि देउडा कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी हुने बताइएको छ ।

“देउडा सुदूरको विशिष्टिकृत पहिचान हो, देउडाले सुदूरलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ”, गायक धामीले भन्नुभयो–“भारतका विभिन्न स्थानदेखि अमेरिकासम्म सुदूरपश्चिमेलीले गौरामा देउडा खेलेर रमाइलो गरेका दृष्य सामाजिक सञ्जालमा देख्दा मन आनन्दित बन्यो ।”

महेन्द्रनगरका साहित्कार हेमबाबु लेखक देउडा हरेक उत्सवमा खेलिँदै आएको  बताउनुहुन्छ । “गौरा एउटा उत्सव भएकाले त्यसमा देउडा खेलिन्छ”, उहाँले भन्नुभयो–“ यहाँसँगै भारतको कुमाउँ गडवाल क्षेत्रमासमेत हरेक उत्सवमा देउडा खेल्ने परम्परा छ ।”

सुदूरपश्चिमेली देश–विदेशसमा गौराको अवसरमा देउडा खेलेर रमाउने गरेका छन् । “गौराको अवसरमा देउडा मात्रै आयोजना गरेर गौरा भनेकै देउडा मात्रै हो की भन्ने भ्रम नयाँ पुस्तामा आएकाले यो चिन्ताको विषय बनेको छ”, साहित्यकार लेखकले भन्नुभयो–“गौरा छुट्टै संस्कृति र परम्परा हो ।” उहाँले गौरामा देउडामा रमाए पनि गौराको परम्परागत शैली र विधि अनुसार मनाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रुपमा धुमधामका साथ मनाउन थालेका छन् ।