२६ बैशाख २०८१, बुधबार 1715161175
Banner

नेपालद्वारा पीएनजीलाई २०४ रनको विजयी लक्ष्य

काठमाडौं : त्रिकोणात्मक टि-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ४ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको हो।

दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगीनी (पीएनजी)लाई २०४ रनको विजयी लक्ष्य दिएको छ ।

नेपालका लागि ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हान्नुभयो । रोहित पौडेलले ४१ रन बनाउनुभयो । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाउनुभयो । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्नुभएको हो । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट हुनुभयो । बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिनुभयो ।

नेपाल यस खेलमा पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । यसअघि लगातार दुई खेल जितेको नेपाल चार अंक सहित शीर्षस्थानमा छ । आज पीएजीलाई हराएमा नेपाल ६ अंक जोड्दै फाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।