२८ बैशाख २०८१, शुक्रबार 1715351817
राजनीति

नर्सिङ सेवामा देखिएको चुनौती समाधान गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताए । उनले सो सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।

संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

“संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ”, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए ।

Tags :