७ जेष्ठ २०८१, सोमबार 1716233808
Banner

संघीय संसदको बजेट अधिवेशन आजदेखि, रविलाई बोल्न दिने तर संसद चल्न नदिने काँग्रेसको अडान

काठमाडौं । संसदको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउसो २ बजे बस्ने बैठकमा शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । शिर्ष नेताकै हैसियतमा रवि लामिछानेलाई बोल्न दिएपनि त्यसपछि संसद बैठक अवरुद्ध गर्ने काँग्रेसका सांसद दिपक खडकाले बताए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनुन्जेल काँग्रेसको अडान यथावत नै रहने काँग्रेसको अडान रहेको उनले बताए ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षीको माग र समिति आवश्यक नभएको सत्तापक्षको अडानका बीच आजदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो । संसदीय समिति बनाउनुपर्ने अडानमा कांग्रेस अहिलेसम्म कायमै छ ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनुका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयकहरु प्रस्तुत हुने छन् । सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसपटक ‘प्रि–बजेट’ छलफल भने हिउँदे अधिवेशनमा नै भइसकेको छ । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दलहरुले सहयोग गर्ने सभामुखको विश्वास छ ।