२४ बैशाख २०८१, सोमबार 1715013871
Banner

असल चरित्रको शिक्षा, शिक्षालय र शिक्षकको अभावमा बिग्रियो देश

असल चरित्रको शिक्षा, शिक्षालय र शिक्षकको अनिवार्य आवश्यकतालाई बुझेर सोअनुरूपको व्यवस्था, नीति र कानुन ल्याउन हामी किन आनाकानी गरिरहेको छौं ? देशको मुख्य प्रश्न यही हो, तर हामी बरालिएका छौं। ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी’ तिर भन्ने पाराले आवश्यकता एकातिर अभ्यास अर्कातिर गर्दैछौं। जसका कारणले देशको परिस्थिति बिग्रिदो छ। तर हामीभने राजनीति र राजनीतिक नेतृत्वहरूलाई मात्र दोष दिएर पानीमाथिको ओभानो बन्न खोज्दैछौं। परिणामस्वरूप भ्रममा रुमल्लिएर सामाजिक मनोविज्ञान गलत निष्कर्षमा पुग्न खोज्दैछ।

यस्तो अवस्थामा जबसम्म बौद्धिक जगतले आमजनतालाई भ्रमित बनाउने गरी आफ्ना क्षमताहरू प्रयोग गर्छन् र जनता पनि भ्रमित वातावरणको प्रभावमा परेर खराब पात्र र प्रवृत्तिबाट आफ्ना अपेक्षाहरू पूरा हुने आसा गर्छन्, तबसम्म देशको राजनीतिले ठीक बाटोमा गतिसहित अगाडि बढ्ने सामर्थ्य प्राप्त गर्दैन्। अनि देशमा बाह्य चलखेल र प्रभाव बढीरहन्छ। शिक्षाको चरित्रले नागरिकको मनोविज्ञान विचित्रको बनाउँदा देशको चित्र बदल्छु भन्ने प्रगतिशील लोकतान्त्रिक राजनीति अस्वभाविक रूपमा पछाडि पर्दैछ अनि खराब पात्र र प्रवृत्तिलाई अघि लगाएर देशमा सुशासन र कानुनी शासनको परिकल्पना गरिदैछ। खराबलाई खराब अनि असललाई असल भन्ने क्षमता हामीमा विकास किन भएन ? प्रश्न गर्नुपर्ने भएको छ ।

यतिबेला यो लेखकको दिमागलाई निम्न प्रश्नहरूले झकझक्याएको छ।

शिक्षा बिग्रिएर राजनीति बिग्रियो कि राजनीति बिग्रिएर शिक्षा बिग्रियो ?
हामी बिग्रिएर शिक्षा र राजनीति बिग्रिएको हो कि शिक्षा र राजनीति बिग्रिएर हामी बिग्रिएका हौं ?

बिग्रिएको के हो ? पहिला त्यो पत्ता लगाऔं र त्यसको बारेमा धारणा बनाऔं। कुरो बुझौं र बुझाऔं, बिग्रिएको हामी र शिक्षा नै हो। त्यसैले देशमा आएको राजनैतिक तथा संवैधानिक परिवर्तनअनुसार शिक्षामा संरचनात्मक परिवर्तन अनिवार्य भएको आवश्यकतालाई स्वीकारौं।

खराब चरित्रको शिक्षाका कारणले हामी नेपालीहरूमा भ्रमित वैश्वीक चेतना त भयो तर राष्ट्रिय चेतनाले स्थान पाउन नै सकेन्। हामीले विश्वका मुलुकहरूलाई हेर्न र बुझ्न पाइरहेएका छौं। विदेशको राजनीति र प्रगति पनि देखेका र भोगेका हामीहरूले नेपालमा त्यस्तै होस् भन्ने चाहन्छौं। हाम्रा चाहाना अस्वभाविक होइन, तर विडम्बना नै भन्नुपर्छ, चाहानानुसारको व्यवहार र अभ्यास गर्न हामी नेपालीहरूले सकिरहेका छैनौं। किन ? यो प्रश्नले घोची रहन्छ। आजको वैश्वीक भनिएको चेतनाले न घरपरिवार र समाज चिनेको छ न त देश नै। फेरि यो चेतना विश्व परिवेशको कुरा गर्छ। घरपरिवार, समाज र देश नै नचिन्ने चेतना कसरी वैश्वीक चेतना भो ? लेखकलाई प्रश्न गर्न मन लाग्छ अनि वैश्वीक चेतना विकास गर्ने शिक्षा, शिक्षालय र शिक्षक तयार गर्नुपर्ने आवश्यकता देख्छ र त्यसलाई लेखनमार्फत व्यक्त गर्छ।

शिक्षाको चरित्रले नागरिकको मनोविज्ञान विचित्रको बनाउँदा देशको चित्र बदल्ने राजनीतिलले अस्वभाविक रूपमा पछाडि पर्नु परेको छ अनि खराब पात्र र प्रवृत्तिले आफूलाई अघि लगाएर देशमा सुशासन र कानुनी शासन ल्याउँछु भन्दैछ। खराब चरित्रको शिक्षामार्फत खराबलाई खराब अनि असललाई असल भन्ने क्षमता हामीमा विकास हुन नै दिइएन। जसका कारणले हामी आर्थिक रूपमा मात्र होइन, बौद्धिक रूपमा पनि गरिब देखिएका छौं। आज आर्थिक र बौद्धिक गरिबी हटाउने समयलाई चिनेर अनि अनिवार्यतालाई बुझेर शिक्षा व्यवस्थालाई उत्कृष्ट र वैश्वीक स्तरको बनाउनु पर्ने भएको छ।

ूभूमण्डलीकरणको यो युगमा घरपरिवार, समाज, देश र परदेशको परिवेशको ज्ञान हुनु अनिवार्य आवश्यक छ। अनिमात्र हामी वैश्विक ज्ञान, चेतना र क्षमतासहितको वैश्वीक नागरिक बन्न सक्छौं। यसका लागि हामीले आधारभूत शिक्षादेखि लिएर विश्वविद्यालय शिक्षामा संरचनात्मक परिवर्तनसँगै लगानी पनि बढाउनु पर्ने भएको छ।” वैश्वीक नागरिक बनाउन शिक्षामा मातृभाषाको प्रयोग पनि आवश्यक भएको अध्ययनहरूले देखाएको छ। तर यो अवधारणाले नेपालमा प्राथमिकता पाएको छैन्। तथापि अध्ययनहरूले भन्छ, आफ्नो मातृभाषामा शिक्षा सुरु गर्ने विद्यार्थीहरूले अन्य विद्यार्थीहरूको तुलनामा राम्रो शैक्षिक उपलब्धि हासिल गर्छन्। अनुसन्धानको निष्कर्षहरूले देखाउँछ कि मातृभाषामा बलियो साक्षरतामा सुधारहरूले मातृभाषा र अन्य भाषाहरू जस्तै दोस्रो र अन्तर्राष्ट्रिय भाषाहरूमा पनि विद्यार्थीहरूको शैक्षिक उपलब्धी विशिष्ट हुन्छ।

तर यतिबेला सामाजिक सञ्जाल र सञ्चार माध्यमले बिगारेको सामाजिक मनोविज्ञानका कारणले एकातिर नयाँ पुस्ता सुरक्षित भविष्य खोज्दै असुरक्षित विदेश पलायनमा रमाएको छभने अर्कातिर राज्य र अभिभावकहरूले गरेको लगानीबाट देशले लाभ लिन सकिरहेको छैन्। जबकी शिक्षाले भोलिका लागि आज नागरिक तयार गर्नुपर्ने हो। यो सन्दर्भमा माल्कोल्म एक्सको भनाई बढी सान्दर्भिक हुनसक्छ। माल्कोल्म भन्छन्, “शिक्षा भविष्यको लागि हाम्रो पासपोर्ट हो, किनकि भोलिका लागि नयाँ पुस्तालाई आज तयार गरिन्छ।” तर दुःखका साथ भन्नुपर्छ, हाम्रो शिक्षा प्रणाली र राज्यको नीतिले देशको भविष्य हेरेर नागरिक तयार गर्ने परिकल्पना गरेको पाइएन। जसका कारणले हिजोभन्दा आज नागरिक पलायन संख्या बढ्दो छ र देश आर्थिक रूपमा झन कमजोर बन्दैछ।

त्यसैले आज हाम्रो सामर्थ्यहरूलाई असल चरित्रको शिक्षा, शिक्षालय र शिक्षक तयार गर्नमा केन्द्रीत गर्नुपर्ने बाध्यात्मक अवस्था बनेको छ। युवाहरूको प्रत्यक्ष सक्रिय योगदानविना देशले सम्वद्धिको यात्रा सुरू गर्न सक्दैन् भन्ने चेत हामीमा आउनुपर्छ। देश शैक्षिक र आर्थिक रूपमा कमजोर भयोभने राजनीतिक र कुटनीतिक रूपमा बलियो बन्न सक्दैन भन्ने चेत हामीमा कहिले आउँछ भन्ने प्रश्नले सरोकारवाला बौद्धिक वर्गलाई घोच्नुपर्ने हो। आज त हाम्रो शिक्षा विदेशका लागि श्रमशक्ति तयार गर्ने माध्यममात्र बनेको छ। अहिले सार्वजनिक शिक्षालयहरूको उत्पादन म्यानपावर कम्पनीमार्फत त संस्थागत शिक्षालयहरूको उत्पादन एजुकेशन कन्सलटयान्सीमार्फत निर्यात गरिन्छ अनि राज्य नागरिक निर्यातको नीति बनाएर सम्वृद्धि ल्याउने परिकल्पना गर्दैछ।

आज देशमा राम्रो अर्थात स्तरीय आधारभूत र उच्च शिक्षाका लागि शैक्षिक संस्थाहरूको आवश्यकता खड्किएको छ किनभने उत्कृष्ट आधारभूत र उच्च शैक्षिक संस्थाहरूले विद्यार्थीमा आजीवन सिकाइ प्रवर्द्धन गर्नुका साथै देशका लागि असल नागरिक तयार गर्न पनि महत्वपूर्ण भूमिका खेल्छन्। यसका लागि शिक्षा व्यवस्था र शिक्षकहरूको क्षमता पनि उत्कृष्ट हुनुपर्छ। तर हाम्रा आधारभूत, माध्यमिकदेखि विश्वविद्यालयहरूको क्षमतामाथि प्रश्न उठेको छ। शिक्षकहरूको क्षमता र नियत पनि प्रश्नहरूको घेरामा छ। हाम्रो शिक्षा व्यवस्था असान्दर्भिक बन्दै गएको छ। तैपनि हामी यथास्थितिमा सुधार खोजेर उत्कृष्ट शैक्षिक उत्पादनको अपेक्षा गर्दैछौं। तर यथार्थमा हाम्रा अपेक्षाहरूको उपेक्षा भइरहेको छ। किनभने शिक्षा व्यवस्था, शिक्षालय र शिक्षकहरूमाथि निरन्तर प्रश्न उठिरहेको छ।

आज परिस्थितिको बाध्यताले वर्तमान शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै शिक्षालय र शिक्षकहरूको क्षमता राम्रो बनाउँदै सम्वृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने वातावरण तयार गर्नुपर्ने भएको छ। हामीले बुझ्नुपर्छ, असल चरित्रको शिक्षा, शिक्षालय र शिक्षकको अभावमा राजनैतिक तथा संवैधानिक परिवर्तनपछि पनि देशको अवस्थामा सकारात्मक परिवर्तन नदेखिएको र नागरिकको चेतना र व्यवहार नकारात्मकता देखिएको हो।