१४ बैशाख २०८१, शुक्रबार 1714131719
समाज

साइन्स एण्ड टेक्नोलोजीले ठुलो फड्को मार्दै छ : थापा

काठमाडौं । पुर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा साइन्स एण्ड टेक्नोलोजीले ठुलो फड्को मारेको बताएका छन् । आदिम नेशनल कलेजले आयोजना गरेको आदिम साईन्स एण्ड आइटी एक्जिबिसन कम फुड फेस्टिबल अवलोकनका क्रममा उनले नेपालका हरेक शैक्षिक संस्थाहरुले पाठ्यक्रम पठनपाठनका साथै व्यवहारिक ज्ञानमा समेत जोड दिन सकेको खण्डमा यो बिषयले मुलुक परिवर्तन गर्न सक्ने अपेक्षा व्यक्त गरेका हुन् । आदिम कलेजमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना बिद्यार्थीहले आविष्कार गरेका डोन टेक्नोलोजी, स्मार्ट सिटी, ब्लुतुथ प्रविधि, स्मार्ट डस्टबिन, अटोमेटिक सडक बत्ती, पुलिस लाइट तथा साइरन लगायका आधुनिक आविष्कार अवलोकन गर्दै उनले यो तहका बिद्यार्थीले यस्ता अद्भुत आविष्कार सृजना गर्न सक्नु भनेको बिद्यालय तथा क्याम्पसको अतिरिक्त सिकाइ र अभ्यास नै प्रमुख भएको बताए । साथै उनले यस्ता दक्ष र सृजनशिल जनशक्ति उत्पादन गर्नु हामी सबैको दायित्व भएको र यिनीहरुको कला प्रष्फुटनका लागी यस्ता प्रर्दशनी सहयोगी हुने धारणा पनि व्यक्त गरेका छन् ।

वैज्ञानिक आविष्कारले फड्को मार्दै गरेको आजको दुनियामा यसको चमत्कारलाई नकार्न नसकिने बताउंदै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले आजका युवा भोलीका देश निर्माणका खम्बा भएकाले यिनलाई आजैदेखी बलियो बनाउन जरुरी रहेको बताएका छन् । अहिलेको स्कुल कलेजको सिकाइ जुन गति र तरिकाले अगाडी बढ्दैछ त्यसमा परिवर्तन ल्याउन आवश्यक भएकाले व्यवहारिक ज्ञानलाई प्रस्तुत गर्ने उपयुक्त माध्ययम बन्न सक्ने यस किसिमका कार्यक्रमले विद्यार्थीमा उर्जा र उत्साह बढाउने कुरा पनि पुनले व्यक्त गरे ।

आदिम नेशनल कलेजले आफ्नो स्थापना कालदेखी नै अतिरिक्त कृयाकलाप मार्फत बिभिन्न सिकाइमुलक कार्यक्रम गर्दै आइरहेको बताउंदै आदिम कलेजका संस्थापक प्रिन्सिपल शंकरप्रसाद शर्माले विद्यार्थीहरुलाई घोकन्ते बिद्या र शिक्षामा मात्र सिमित नराखी उनीहरुको ज्ञानको दायरलाइ सिकाइसंगै बुझाइ अनि त्यसैलाई दैनिक जनजीवनमा व्यवहारिक रुपमा लागु गर्न कलेजले विद्यार्थीका सृजनात्मक कामलाई प्रथामिकतामा राखी यस्ता कार्यक्रमको आयोजनामा गर्दै आइरहेको बताए । शर्माका अनुसार यस्ता व्यवहारिक सिकाइले विद्यार्थीलाई अन्तराष्टियस्तरको प्रतिस्प्रधाका लागी ढोका खोल्ने काम गर्ने मात्रै नभएर स्वदेशकै लागी समेत सृजनात्मक र उपयोगी काम गर्न सक्ने तहसम्म पुर्याउंन सहयोगी भुमिका खेल्छ ।

आदिम साईन्स एण्ड आइटी एक्जिबिसन कम फुड फेस्टिबल को मुल उदेश्य विज्ञान बिषय पढिरहेका विद्यार्थीहरुको सृजनात्मक सीप र कला प्रर्दशन गर्नुका साथै होटल म्यानेजमेन्ट बिषय अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुको क्षमता प्रस्तुतीकरण गर्दै उनीहरुका सीप, कला र सृजनालाई बाहिर ल्याउनु भएको उनको भनाइ थियो ।

काठमाण्डौं उपत्याकाका विभिन्न विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रममा आदिम नेशनल कलेजमा अध्ययनरत करिब ७० जना विद्यार्थीहरुद्धारा तयार परिएका वैज्ञानिक आविष्कारका बिभिन्न प्रोजेक्टहरुको प्रर्दशनी गरिएको थियो । साथै सोही कलेजका होटल म्यानेजमेन्ट पढिरहेका ५० भन्दा बढी विद्यार्थीहरुको पाककला प्रर्दशनीका साथै फुड टेस्टिगं कार्यक्रम पनि रहेको थियो ।