२३ बैशाख २०८१, आईतवार 1714935665
Banner

दरबारमार्गमा प्रत्येक शनिबार रैथाने कृषि हाटबजार, स्थानीय स्वादका परिकार

काठमाडौं । काठमाडौंको भिआइपी व्यापारिक केन्द्र दरबार मार्गमा अब प्रत्येक शनिबार स्थानीय कृषि उत्पादन मेला लाग्ने भएको छ । बिदेशी ब्रान्डका महंगो रेष्टुरेन्ट, दोहोरी साँझ, ब्रान्डेट कपडा तथा अन्य सामाग्री पाइने दबारमार्गमा अब गाउँका स्थानीय उत्पादनहरू पनि पाइने भएको छ ।

गाउँका गरिबले खाने खानाको पहिचान बनेको तर, स्वास्थ्यका हिसाबले सबैभन्दा राम्रो स्थानीय रैथाने कृषि उत्पादन दबरबार मार्गमा पाइने भएको हो । ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि १२ बजेसम्म लाग्ने गर्छ ।

रैथाने एग्री प्रडक्टस् नेपाल र ओरियन्ट क्याफेको आयोजनामा सुरु भएको यो मेलामा गाउँ गाउँमा पाइने रैथाने खानेकुराहरूको बिक्री वितरण तथा परिकारहरू समेत उपलब्ध हुन्छन् ।

सोमबार आयोजकले दरबारमार्गमा हाटबजार उद्घाटन गर्दै प्रत्येक शनिबार ओरियन्ट क्याफे दरबारमार्गमा हाटबजारसहित रैथाने खानाहरू समेत पाइने जानकारी दिए ।

हाटबजारको उद्घाटन गर्दै पूर्वयोजना आयोगका उपाध्यक्ष तथा बागमती प्रेदशका सांसद डा.दिनेशचन्द्र देवकोटाले रैथाने बाली संरक्षण गर्न यस्तो हाटबजार आवश्यक भएको बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसावले पनि औषधिय गुणले युक्त रैथाने बालीहरू पछिल्लो समय मासिदै गएको बताए ।

रैथाने बाली जोगाउन गरिएका यस्ता प्रयासलाई आफ्नो तर्फबाट पूर्ण समर्थन र सहयोग रहने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले यस्तो हाटबजार सबै स्थानीय तहसम्म सञ्चालन गर्न आयोजकलाई आग्रह गरे ।

आयोजकका अनुसार हाटबजारमा उपलव्ध हुने कृषि उपज, वस्तु तथा सेवा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी हुने छ । त्यस्तै सीपमा आधारित हस्तकलाका सामग्री, परम्परागत कृषि औजार तथा प्रविधि, रैथाने बीउ बिजन, विरूवा, फूल र प्राङगारिक मलसमेत पाइने छ ।

आफूले नगरपालिकाको नीति तथा कार्यक्रममै रैथाने बाली संरक्षण र प्रवर्धन गर्ने उल्लेख गरेको भन्दै बुढानिलकण्ठ नगरपालिकाले यो अभियानलाई पूर्ण साथ दिने नगरप्रमुख मिठाराम अधिकारीले बताए । उनले हाटबजारका लागि बुढानिलकण्ठले स्टल उपलब्ध गराउने बताए ।

अधिकारीले अहिले बजारमा पाइने हरेक कुरामा विषादी प्रयोग गरेका खानेकुरा मात्र पाइने अवस्थामा यस्तो स्थानीय खानेकुराहरू स्वास्थ्यका लागि राम्रो भएको बताए । विषादी प्रयोग नभइकन उत्पादन हुने यस्ता रैथाने बालीको उत्पादन, संरक्षण र प्रवर्धनका लागि नगरपालिकाले सबै खाले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

यो हाटबजार आयोजकका अनुसार एक कृषि र किसानका पूर्ण प्याकेज हो । बजारमा नेपाली मौलिक परिकार दुग्धजन्य उत्पादन, मासुजन्य उत्पादन, रैथाने कृषि उपजमा आधारित बेकरी, कफी, चिया अन्य घरायसी सामग्री तथा परामर्श सेवासमेत पाइन्छ ।

रैथाने कृषि हाटबजार प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि ५ सदस्यीय अनुगमन तथा निरीक्षण समिति गठन गरिएको छ । उक्त समितिमा आयोजकको संयोजकत्वमा १ जना पोषण विज्ञ, १ रैथाने कृषि विज्ञ रहनेछन् । उक्त समितिले वास्तविक उत्पादक किसान, कम्पनी तथा फर्महरूको पहिचान, खाद्यन्न गुणस्तर कायम गर्ने र हाटबजारको व्यवस्थापनलाई चुस्त राख्न समन्वयकारी भूमिका खेल्ने आयोजकले जनाएको छ ।

रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले आफूहरू कृषि सम्बन्धि विज्ञ नभएपनि अहिलेको आवश्यकता ठानेर यो मेला सुरु गरिएको बताए । उनले आफू जस्तै धेरै युवाहरू भविष्य खोज्दै देश विदेशमा भौतारिएको तर सम्भावनाहरूले हामीलाई कुरी रहेको अवस्थामा युवाहरूलाई कृषिमा आकर्षित गर्न पनि यो मेलाको उदेश्य रहेको बताए ।

मेलाले किसान र कृषिलाई उपभोक्ता जोड्न सहज बनाउन सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । मेलाको उद्घाटनको पहिलो दिन कृषि हाट बजारमा २० वटा स्टल राखिएको थियो । बारीमा उत्पादित अर्गानिक फलफुल तथा कृषि जन्य सामग्री राखिएको थियो । फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राखिएको थियो ।

सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए । मोही पार्ने ठेकी, पुराना बती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

व्यवसायीले अर्गानिक कृषि जन्य सामग्री मात्र बिक्रीका लागि ल्याउने ढकालको भनाइ छ । विभिन्न जिल्लाका कृषकले उत्पादन गरेका सामाग्री मात्र बिक्री गर्न पाउने उनले बताए ।

दरबारमार्गमा सुरु भएको रैथाने कुषि हाटबजारले उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गर्ने आयोजकको दाबी छ । बिचौलियाका कारण मारमा परिरहेको किसानलाई यो हाटबजारले अवसर सृजना गर्ने आयोजकको दाबी छ । यसले उत्पादक किसानहरूबीच आपसमा सिकाइ तथा अनुभवहरूको आदानप्रदान गराउने लक्ष्य राखिएको छ ।

रैथाने कृषि प्रवर्धनमा किसानसँग साझेदारी र सहकार्यका लागि अवसर प्रदान गर्ने, कृषि जैविक विविधता र मौलिक नेपाली खानाबारे प्रचारप्रसार गर्ने, नेपाली मौलिक सांस्कृतिक सम्पदासँग अन्योन्याश्रित रैथाने ज्ञान, कला सीप तथा कृषि प्रविधिहरूबारे युवा वर्गमा जानकारी गराउने हाटबजारको उद्देश्य रहेको छ ।